सीमा मिचिएको विरोधमा नेविसंघको प्रदर्शन, प्रधानमन्त्रीको मागियो राजीनामा

प्रकाशित मिति:

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ । काठमाडौंको चाबहिलमा मंगलबार गरिएको प्रदर्शनमा प्रधानमन्त्री राष्ट्रियता जोगाउन असफल भएकाले राजीनामा दिनु पर्ने नेविसंघको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डाका साथ नारा जुलुस गरेका थिए ।

गत शुक्रबार पनि नेविसंघले नेपालको सीमा मिचिएको विरुद्धमा प्रदर्शन गरेको थियो । मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरुले सरकारप्रति चर्को आक्रोश पोखे । भारतले केही दिन अघि मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्त नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरालगायतका भूमी आफ्नो क्षेत्रमा समेटेको छ । भारतले जारी गरेको नयाँ नक्सालाई लिएर पछिल्लो समय देशभर विरोध प्रदर्शन भइरहेको छ ।