तीज पर्व : हराउदै मौलिकता, संस्कृतिको नाममा भित्रदै विकृति

प्रकाशित मिति:

झविन्द्र भण्डारी \ हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तीज भित्रिए संगै यतिबेला गाउँ देखि सहरसम्म तीजको रौनकता छाएको छ । भाद्र शुक्ल द्वितीया देखि पञ्चमी सम्म मनाइने तीजमा महिलाहरु श्रीमानको दिर्घायुको कामना गरी ब्रत बस्ने र भगबान शिवको आराधाना गरी नाचगान सहित मनोरञ्जन गर्ने प्रचलन रही आएको छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले महादेब पति पाउँ भनी कठोर ब्रत गरी पुजा गरेकोले महादेब प्रसन्न भएर पार्वतिको सारा मनोकामना पुरा गरिदिएको पौराणिक कथा छ ।
तीजमा विवाह भई पराईघर गएका चेलीहरुले बर्षभरी आफुले भोग्नु परेको दुख, पिडालाई माइतमा गई दिदि बहिनी तथा आमाहरु जम्मा भई गीतको माध्यमबाट ब्यक्त गर्ने समेत प्रचलन थियो भने तीजमा खाइने दर तीजको ब्रतको अघिल्लो दिन खाने गरिन्थ्यो । तर अहिले त्यस्तो छैन तीज पर्व, भाका, पहिरन देखि दर समेतलाई फरक अर्थमा हेर्न थालिएको छ ।
अहिले कर्म घरमा भोगेका दुख पिडालाई समेटिएका भाका छैनन् । छन त केवल माया पिरतिका, पहिरनमा अझ उस्तै प्रतिस्पर्धा महङ्गा गरगहना अनि आधुनिकताका नाममा फेसन, दरका नाममा महिनौ अघि देखि विभिन्न पार्टि प्यालेस तथा रेष्टुरेन्टमा कार्यक्रम यस्ता विकृति दिनानुदिन बढ्दै गइरहेका छन । यसरी नै विकृति भित्रदै गए अबको पुस्ताले तीजको परिभाषा कसरी गर्ने हुन सोच्नु पर्ने अबस्था आएको छ ।
परिवर्तनशिल समाजमा समय अनुसार कतिपय संस्कृतिलाई अबश्य पनि परिमार्जित गर्दै लैजानुपर्छ । तर तीजमा भने परिवर्तन विकृतिका रुपमा रहन पुग्यो । तीजमा गाइने भाका संगै दर खाने चलनमा आएको परिवर्तनले संस्कृतिलाई नै अपव्याख्या गरेको आबाज उठ्न थालेका छन । आधुनिकताको नाममा तीज जस्ता मौलिक पहिचान बोकेका चाडलाई भड्किलो पर्वतिर रुपान्तरण गर्नु हुदैन ।
यति भनिरहदा सबै गीतमा विकृति भित्रिए भन्न खोजिएको होइन केही गीत त मौलिक समेत बनेका छन । नारिहरुको महान पर्व हरितालिका तीजमा देखिएका विकृतिलाई निरुत्साहित गर्दै मौलिकता कायम गरिनु पर्छ । सबैको पहुच पुग्ने हिसाबले सरल, सहज रुपमा सभ्य र भब्य तरिकाले मनाइयो भने तीज जस्ता अन्य पर्वको अस्तित्व कायम रहन्छ ।

कुन कलाकारका कस्ता गीत

विगतका बर्ष जस्तै यो बर्ष पनि धेरै कलाकारहरुले तीजलाई लक्षित गरी गीत बजारमा ल्याएका छन । यो बर्ष बजारमा आएका गीत मध्ये मौलिक र दर्सक स्रोताले रुचाएका गीत मध्येमा पर्ने केही गीत यस्ता छन ः
सुनदाजुभाई 

गायीका शारदा पगेनीले सुनदाजुभाई बोलको गीत लिएर बजारमा आएकी छन । केही बर्ष पहिलाबाट निरन्तर रुपमा नेपाली लोक सांगीतिक क्षेत्रमा क्रियाशिल रहेकी पगेनी पछिल्लो समयमा स्टेज कार्यक्रममा समेत ब्यस्त छिन । तीज गीत सुन दाजुभाईको कुरा गर्दा उनि भन्छिन ‘गीत निकै मौलिक बनेको छ गीतमा आफ्नो कर्म घर जान लागेकी चेलीले आफ्ना दाजुभाईलाई कहिले बाबा आमालाई दुख नदिन आग्रह गरेकी छन भने दाजुभाईको तर्फबाट आफ्ना माता पितालाई दुख नदिने भन्दै दिदिलाई माता पिताको निकै माया लाग्ने भन्दै चिन्ता नलिन आग्रह गरिएको कथावस्तुलाई गीतमा समेटिएको छ’ । एकनारायण भण्डारीको लय शब्द रहेको गीतमा आबाज खुमन अधिकारी र शारदा पगेनीको छ । उमंग म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको गीतमा अभिनय हास्य कलाकार सुरविर पण्डित, रमा थपलिया तथा सुमन परियार र सुप्रिया पगेनीको रहेको छ ।
लौरी हरायो

तीजका गीतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका गायक पशुपति शर्माको लय, शब्दमा देवि घर्तिको लोरी हरायो बोलको यो बर्षको तीज गीतमा मौलिकताको झल्को भेटिन्छ । गीतमा चेलिको तर्फबाट माइत जादा टेक्ने लौरी हराएको प्रसंगलाई जोडिएको छ भने दाजुभाईले आफ्ना चेलिलाई लिन जान छाता हराएको प्रसंगलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ । पशुपति शर्माको लय शब्द रहेको गीतमा आबाज पशुपति शर्मा, देवि घर्ति, राजु ढकाल र सुष्मिता घर्तिको रहेको छ ।
दशा 

गायीका गायत्री थापाको तीज गीत दशा केही फरक तरिकाले समाजको यथार्थ चित्रण गर्न खोजिएको छ । आफ्नो कर्म घरमा रहेकी चेलिको जब सिन्दुर मेटिन्छ त्यसपछिको घटनालाई बास्तविक जस्तै गरि पस्तुत गरिएको छ भने विदेशीएको भाईले विदेशमा पाउनु परेको दुख अनि घरमा बाबा आमाको पिडालाई गीतमा निकै मार्मिक रुपमा पस्तुत गरिएको छ । गायत्री थापाको शब्द जय देबकोटाको लय रहेको गीतमा आबाज शान्तिश्री परियार र जय देबकोटाको रहेको छ । गीतको भीडियो समेत निकै मार्मिक रहेको छ । शिबदर्शन फिल्मसले बजाार ब्यवस्थापन गरेको गीतमा अभिनय सुरविर पण्डित, रमा थपलिया, जय देबकोटा, गायत्री थापा र भगत शाहको रहेको छ ।
हरियो चुरा 

गायक तथा सर्जक महेन्द्र भण्डारीको लय शब्दमा बजारमा आएको तीज गीत हरियो चुरा यो बर्ष दर्सक स्रोताले रुचाएको गीत मध्येमा पर्दछ । केही भिन्न परिवेसबाट तयार गरिएको गीतको सन्दर्भक कुरा गर्दा भण्डारी भन्छन ‘यो गीत बिशेषत नया पुस्तालाई समेटेर बनाइएको गीत हो । गीतलई छोटो समयमा नै दर्सक स्रोताले रुचाइदिनुभयो सम्पूर्ण गीतको टिम खुसि छौ’ । महेन्द्र भण्डारीको लय शब्द रहेको गीतमा आबाज खुमन अधिकारी र देवि घर्तिको रहेको छ । शिबदर्शन फिल्मसले बजार ब्यवस्थापन गरेको गीतमा अभिनय अञ्जली अधिकारी र निर्मल क्षेत्रीको रहेको छ ।