मुक्तिनाथ बैंकद्वारा ऋण रकम फिर्ता

प्रकाशित मिति:

भैरहवा – मुक्तिनाथ विकास बैंक लिमिटेड साना तथा लघु बैंकिङ डेस्क कार्यालय भैरहवाले महिला ग्राहक सदस्यको परिवारलाई ऋण रकम फिर्ता गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ निवासी ५९ वर्षिय भक्त कुमारी शाहीको गत भदौ १६ गते निधन भएपछि मृतक शाहीका पति विन्दु कुमार शाहीलाई ऋण रकम फिर्ता गरेको हो । विन्दु कुमार शाहीलाई एक कार्यक्रमका बीच १ लाख ३९ हजार ८ सय ५० रुपैंयाको चेक हस्तान्तरण गरिएको छ । मृतक शाहीले लिएको २ लाख ५० हजार कर्जा (सावा र व्याज) मध्ये उनले तिरेको ६६ हजार ५ सय ९४ रुपैंया फिर्ता तथा बाँकी २ लाख ४ सय २० रुपैंया ऋण मिनाहा गरिएको मुक्तिनाथ विकास बैंक लिमिटेड साना तथा लघु बैंकिङ डेस्क कार्यालय भैरहवाका प्रमुख बसन्त कुमार के.एम.ले बताए । त्यस्तै स्वर्गीय शाहीले बचत गरेको ६८ हजार २ सय ५६ रुपैंया व्याज सहित उनको परिवारलाई फिर्ता गरिएको के.एम.ले बताए ।

साना तथा लघु बैंकिङ अन्तर्गत १ लाख देखि २० लाख सम्म बैंकले लगानी गर्दै आएको छ । मृतकका परिवारलाई राहत होस भन्ने उद्धेश्यले राहत रकम हस्तान्तरण गरिएको मुक्तिनाथ विकास बैंक भैरहवा शाखाका प्रबन्धक केशव उपाध्यायले बताए । उनले मानिसको जीवनको कुनै भरोसा नभएकोले बचत तथा बीमामा विशेष ध्यान राख्नुपर्नेमा जोड दिए । मुक्तिनाथ विकास बैंकले यस क्षेत्रमा विगत ६ वर्ष देखि बैंकिङ सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । मृतकका परिवारलाई चेक हस्तान्तरण गर्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य कुमार गुरुङले मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु अगाडी बढाउने कार्य प्रशसंनीय रहेको बताए । उनले आगामी दिनमा बैंकले शिक्षा र बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।