चित्र बहादुर के.सी भन्छन – ‘सरकार ढाल्ने पक्षमा छैनौं’

प्रकाशित मिति:

भैरहवा – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी ले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । जनताको म्याण्डेट अनुसार सरकारले काम गरेन भन्ने राष्ट्रिय जनमोर्चाको विरोध र आलोचना भए पनि सरकार ढाल्ने पक्षमा भने आफुहरु तत्काल नरहेको उनले स्पष्ट पारे । प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै के सी ले नेपालका भू-भागहरु समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गर्नु नेपाली जनताको लागि चिन्ताको विषय भएको बताए ।

उनले नेपालका भू-भागहरु नेपालीका लागि आँखाको नानी सरह भएकोले त्यो नानी फुटालेर जनता अन्धो हुन कदापी नसक्ने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता के सी ले भारतले जारी गरेका नक्साप्रति सबै राजनीतिक दलहरु एकढिक्का हुनु महत्वपूर्ण विषय भएको बताए । नेपालका भुभाग भारतले फिर्ता गर्नुपर्ने उनको भनाइ थियो । मेची महाकाली र हिमाल देखि तराईका देशभक्त नागरिक देशको अखण्डता रक्षा गर्नुपर्ने भन्दै आवाज उठाउने कुरा प्रशसंनीय रहेको के सी ले बताए ।

राष्ट्रिय जनमोर्चाले विगत देखि नै देशमा संघीयता आवश्यक छैन भन्ने कुरा सत्य सावित हुँदै गएको उनले दावी गरे । स्थानीय र संघीय सरकारलाई मजबुत बनाएर प्रदेश सरकार हटाउनुपर्छ, उनले भने । प्रदेशको राजधानी र न्वारन समेत अहिले सम्म हुन नसकेकोले संघीयता खारेजी गर्नुपर्ने पार्टीको माग सही भएको कुरा दिनप्रति दिन पुष्टि हुँदै आएको उनले बताए । प्रगतिशिल पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्याम पोखरेलको अध्यक्षता तथा सचिव डिआर बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।