पत्रकारितासँगै सामाजिक रुपान्तरण संभव छ : गंगा खड्का 

पत्रकारिता क्षेत्र आफैँमा दौडधुपको पेशा हो

प्रकाशित मिति:

गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेमा जन्मनुभएकी पत्रकार गंगा खड्का पत्रकारिता संगै सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । अन्नपूर्ण मिडिया नेटवर्कमा आबद्ध खड्का सेवा सञ्चार गुल्मीको अध्यक्ष, सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल, क्रियाशिल पत्रकार महिला(डव्लुडव्लुजे) लगायतका संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ । भर्खरै मात्र यूवा तथा खेलकुद मन्त्रालयद्धारा २०७५ साउन २७ गते अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा गुल्मी, पाल्पा, वैतडी र सुर्खेत जिल्लाका झण्डै ८० वटा विद्यालयमा कार्यक्रम गरी विद्यालयलाई महिनावारीमैत्री बनाउन योगदान गरेको मूल्यांकन गर्दै नगद रु एक लाख राशीको राष्ट्रिय यूवा प्रतिभा सम्मानद्धारा सम्मानित खड्का सुरक्षित महिनावारीको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै २०७५ साउन २९ गते महिनावारी व्यवस्थापन संजाल काठमाण्डौँद्धारा अभिनन्दन सहित सम्मानित समेत हुनुभएको थियो । पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय पत्रकार गंगा खड्का संग सबल नेपाल साप्ताहिकको चौथो अंगका लागि झविन्द्र भण्डारीले गरेको कुराकानी 

पत्रकारितामा कसरी र किन आउनुभयो ?
पत्रकारिता मेरो खासै रुचिको विषय थिएन । सानो उमेरमा म गायिका बन्छ्ु जस्तो लाग्थ्यो । विमा कुमारी दुरा र लक्ष्मी न्यौपानेका लोकगित असाध्यै सुन्थे । हामी दिदी वहिनी जुम्ल्याहा छौँ । गंगा र गगनशिला । वहिनी गगनशिला एकदमै रेडियो सुन्ने । सानोमा उनको रुची मिडियातिरै थियो । ९÷१० कक्षामा पढ्दा विद्यालयमा सांगितिक कार्यक्रम सञ्चालन गर्ने गर्थे । २०६३ सालमा एसएलसी दिएपछि गाउँबाट सदरमुकाम तम्घास आयौं । पाल्पाको करियर गु्रप नेपाल नामको संस्थाको आयोजनामा पहिलोपटक तम्घासमा आधारभुत पत्रकारिता र उद्घोषण तालिम खुल्यो । गगनशिलाको रुची अनुसार दिदीवहिनीले सल्लाह गरेर एक हप्ते तालिममा सहभागी भयौँ । त्यसवेलादेखि पत्रकारितातिर विस्तारै आकर्षण बढ्दै गयो ।
केही महिनामै गुल्मीको पहिलो रेडियो रेसुंगा सञ्चालनमा आउने भएपछि पत्रकार महांसंघ गुल्मीले समेत पत्रकारिता तालिम आयोजना ग¥यो । वहिनी गगनशिला सहभागी भईन् । म घरायसी कामले गाउँमा थिए । गगनशिलाको यात्रा रेडियो रेसुंगाबाट शुरु भयो । म जिल्ला अदालतमा लेखन्दासको काममा व्यस्त भए । केही समय गाउँमा साक्षरता अभियानको निरिक्षक भएर पनि काम गर्ने अवसर मिल्यो । सामाजिक रुपान्तरणको यात्रा यहीँबाट शुरु भएको हो । गाउँमा मेरै नेतृत्वमा पत्रकारीता तालिमको आयोजना गरे । २०६८ सालमा तत्कालिन पत्रकार महांसंघ गुल्मीका सचिव भरत पाण्डेको सहयोगमा सेवा सञ्चार गुल्मी नामक सामाजिक संस्था स्थापना गरियो । संस्थाबाट फाटट्फुटट् काम भइरहन्थे । तालिमको समयमा प्रशिक्षक तथा कान्तिपुर दैनिकका जिल्ला संवाददाता घनश्याम गौतमले समाचार भए रेडियोमा पठाउन सहयोग गर्छु भनेपछि रेडियोका लागि गाउँका समाचार पठाउने गर्थे । २०७० साल मंसिरको निर्वाचनमा म निर्वाचन पर्यवेक्षकको क्षेत्रिय संयोजक भए । निष्पक्ष पर्यवेक्षण मेरो कर्तव्य भन्ने लेख नयाँ पत्रिका दैनिकमा पहिलोपटक प्रकाशित भएको थियो । त्यसपछि स्वास्थ्य खबर, सवल नेपाल साप्ताहिक लगायतका पत्रिकामा समाचार लेख्न थाले । यहीबाट मेरो लेखनयात्रा शुरु भएको हो । कहिलेकाही गोरखापत्र र अन्नपूर्णपोष्ट दैनिकमा पनि लेख लेख्ने गर्थे । यसै शिलशिलामा अन्नपूर्ण पोष्ट दैनिकले २०७३ साल साउनमा थुप्रै जिल्लाका लागि संवाददाताको माग ग¥यो । मैले पनि जिल्लाबाट आवेदन दिए । पत्रिकाले मलाई छनोट ग¥यो र काम गर्ने अवसर मिल्यो । पत्रकारीता मार्फत समाज रुपान्तरण, सेवाप्रदायक निकायलाई खबरदारी, जनजिविकाका सवालहरुलाई पत्रकारिता मार्फत खवरदारी गरी सामाजिक रुपान्तरणको क्षेत्रमा परिवर्तन गर्न सकिन्छ भन्ने लागेर यस क्षेत्रमा जोडिएकी हुँ ।

पत्रकारीता क्षेत्रमा आएपछि के पाउनुभयो ? के गुमाउनु भयो ?
यस क्षेत्रमा आएपछि धेरै कुरा सिकेकी छु । समाज बुझ्ने मौका मिलेको छ । सिमान्तकृत वर्गको आवाज बाहिर ल्याउन सकेकी छु । यसले समस्यामा परेका नागरिकको पिडामा मल्हम लगाउन मद्दत गरेको छ । आवज विहिनहरुको आवाज बन्ने अवसर पाउँदा खुसी लाग्छ । त्यस्तो गुमाएजस्तो केही लाग्दैन । मैले गरेको पेशामा म आजसम्म सन्तुष्टि नै छु । महत्वकाक्षा धेरै छैन । त्यसैले खुसी भएकी छुँ जस्तो लाग्छ ।

पत्रकारीता शुरु गरेदेखीको अविष्मरणिय क्षण ?
यस दौरानमा अनेकन क्षणहरु छन् । तर, सम्झिनै पर्ने एउटा क्षण छ । पत्रकारिता क्षेत्र आफैँमा दौडधुपको पेशा हो । खवर संकलन गर्न जहिल्यै हतार गर्नुपर्ने । कुरा २०७४ साल मंसिरमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको हो । टेलिभिजन र अनलाइनमा दिनभर निर्वाचनको मतपरिणाम अपडेट गर्दागर्दै थकित थिए । राती दश वजे एपिवान टेलिभिजनमा लाईभ अपडेट दिनुपर्ने फोन आयो । लाईभ दिदादिदै निदाएछु । मत परिणाम तलमाथी भए छ । पछि मात्र थाहा पाए । यस क्षणले मेरो लागि अविस्मरणीय नै रहयो ।

पत्रकारितामा पनि विशेष कुन विटमा कलम चलाउनुहुन्छ ?
शहरमा जस्तो मोफसलको पत्रकारितामा अझैपनि विधागत पत्रकारिताको विकास हुन सकेको छैन् । त्यसै त पहाडको भूगोल सानो छ । समाजको सवै नागरीकहरुले पत्रकारसँग आफूहरुको आवाज बोलिदिए हुन्थ्यो भन्ने चाहना राख्छन् । प्रायः सवै क्षेत्रमा कलम चलाउछु । यद्यपी, यसबीचमा अझ बढी विकास निर्माण, कृषि, आर्थिक र सामाजिक विषयवस्तुका समाचारहरु बढी लेख्न मन लाग्छ ।

चुनौतीहरु कत्तीको खेप्नु परेको छ आजसम्म आईपुग्दा ?
महिला पत्रकारहरुलाई अझैपनि कैयन चुनौतीहरु छन् । जिल्लामा महिला पत्रकारहरु अत्यन्तै कम संख्यामा हुनुहुन्छ । राष्ट्रिय स्तरको पत्रिकामा काम गर्ने महिला पत्रकार म मात्र छु । राम्रा समाचारहरु खोजी गर्न स्थलगत पुग्नैप¥यो । कोठामा बसेर लेखेको समाचारको समाजले विश्वास नै गदैन् । त्यस्तो समाचारले आफूलाई पनि सन्तुष्टि दिँदैन् । फिल्डमा रिर्पोटिङ गर्नजाँदा महिला पत्रकारहरु कोही हुनुहुन्न । अझ त्यसैमाथी यातायातको समस्या त छदैछ । सुरक्षाको कुरा पनि बढी आउछ । सायद यस्तै समस्याले गर्दा होला नेपाली पत्रकारितामा महिलाहरु टिक्न नसकेको । तर, सवै चुनौतीलाई चिर्दै आफ्नो पेशालाई दृढताका साथ अघि बढाइरहेकी छु ।
पत्रकारीता गर्न चाहानेलाई के सुझाव दिनुहुन्छ ?
पत्रकारिता आफैँमा पैसा कमाउने क्षेत्र होइन । आफ्नो जिविकासँगै समाज बदल्ने अठोट गर्नेहरुका लागि यो क्षेत्र उपयूक्त छ । धेरै धन कमाउने सोँच भन्दा पेशाप्रति उत्तरदायी बन्न सक्ने अठोट गर्नुपर्छ । पछिल्लो समय कतिपय व्यक्तिहरु लहलहैमा यस क्षेत्रमा लागेको पनि देखिन्छ । समाजप्रति उत्तरदायी, बफादार, इमान्दारीता र कर्तव्यनिष्ट भएका व्यक्तिहरु मात्र यस क्षेत्रमा टिक्न सक्छन् । एक दुई दिन नाम कमाएर पत्रकारिता पेशा अंगाल्छु भन्ने सोँच राख्नु हुन्न । पछिल्लो समय केही पत्रकार साथीहरु अनेक कुरामा मुछिएको सुन्दा दुःख लाग्छ । पत्रकार समाजको निष्पक्ष ऐना बन्नसक्नुपर्छ । नागरिकहरुले पनि यही कुरामा विश्वास लिएका छन् । एकैपटक भन्दा पनि विस्तारै काम गरेर विश्वास जित्न सकियो भने मात्र आम्दानीको हिसाबले समेत मद्दत मिल्न सक्छ ।

पत्रकारितासँगै सामाजिक रुपान्तरणको क्षेत्रमा क्रियाशिल रहेर यूवा प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित हुँदा कस्तो महशुस गर्नुभयो ?
पत्रकारिता पेशा आफँैमा समाज बदल्ने क्षेत्र हो । अझ यसैमाथी नेपाल सरकारले युवा प्रतिभा सम्मान प्रदान गर्दा खुसीको सिमा नै रहेन । पत्रकारले सकेसम्म पत्रकारीता संगै समाज रुपान्तरणको क्षेत्रमा पनि कुनै न कुनै अभियानको नेतृत्व गरे समाजमा अझ विश्वास बढ्ने र प्रभावकारीता संगै सफलता हातपार्न सकिन्छ भन्ने कुरा मैले पाएको सम्मानबाट अनुभव मिलेको छ । मैले सञ्चालन गरेको सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभियानमा म आवद्ध मिडियाको ठूलो योगदान छ । अन्य मिडियाहरुले पनि कहिल्यै नभुल्ने गुण लगाउनु भएको छ । जिल्लाका संचारकर्मी साथी, केन्द्रका पत्रकारहरु, सञ्चार माध्यम, मेरो घरपरिवार, संस्थाका सवै साथीहरु, एनआरएन क्यानाडा, क्यानाडा स्थित पारिश्रमिक यूथ गु्रपका साथीहरु, जिल्ला सम्वन्य समिति, वास ईकाई ,ईस्मा, मदाने, धुर्काेट, छत्रकोट, गुल्मीदरवार लगायतका गाउँपालिका, जिल्ला प्रहरी कार्यालय, विद्यालय निरिक्षक, स्वास्थ्यकर्मी, जिल्लाका क्रियाशिल सामाजिक अभियन्ता दिदीहरु ,राजनितिक दल, पाल्पा, सुर्खेत र वैतडीका सञ्जालका अध्यक्ष सवै सवैमा सह हृदय धन्यवादका शव्द अर्पण गर्दछु । पत्रकारितासँगै समाज बदल्ने दिसामा अनवरत लागिरहने समेत प्रण गर्दछु ।