‘विन लादेन’ हात्ती नियन्त्रणमा

प्रकाशित मिति:

एजेन्सी – ओसामा विन लादेन नामको एक हात्तीलाई वन्यजन्तु अधिकारीले लामो प्रयासपछि भारतको असामबाट नियन्त्रणमा लिएका छन् ।वन्यजन्तु अधिकारीहरुले धेरै दिनको प्रयासपछि लादेनलाई ड्रोन र घरेलु हात्तीको सहायतामा उत्तरपूर्वीय असाममा ट्रयाक गरेका हुन् । लादेनलाई उनीहरुले यसअघि रोङ्जुली जङ्गलमा ट्रयाक गरेका थिए ।

गत अक्टोबर महिनामा हिंस्रक हात्तीको आक्रमणबाट गोलपारा जिल्लामा तीन महिलासहित पाँच जनाको मृत्यु भएको थियो । मान्छे मार्ने उक्त हात्तीलाई नै आतङ्ककारी सङ्गठन अल्कायदाका नेता स्व.ओसामा विन लादेनको नाम दिइएको हो । एक अधिकारीका अनुसार अब ट्रयाकमा रहेको लादेनको हेरचाहमा ध्यान दिइनेछ । स्थानीय वासिन्दाको सुरक्षामा ध्यान दिँदै हात्तीको स्थान परिवर्तन बारे निर्णय लिनेछन् । ‘हामीले आज अपरेशनको अन्तिम चरण सुरु गर्‍यौँ। विशेषज्ञहरुले दुई वटा डार्ट हानेका थिए जसले भाले हात्तिलाई शान्त बनाएको थियो,’ एक वरिष्ठ वन अधिकारीले भनेका छन् । उनले अहिले हात्तीलाई मानव वस्ती नजिक नभएको जङ्गलमा सार्ने काम भइरहेको बताए । असामका वनमन्त्री परिमल शुक्ला बैद्यले वन्यजन्तु विशेषज्ञ सहितको आठ सदस्यीय कमिटीले यसबारे निर्णय लिने बताएका छन् ।