३९ औं राष्ट्रिय शिक्षा दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार को नाराका साथ बुटवलमा भव्य समारोहका साथ दिवस मनाइयो ।बुटवल उप–महानगरपालिका र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा शनिबार बुटवलमा एक भव्य समारोहको आयोजना गरी दिवस मनाइएको हो । दिवसका अवसरमा सार्वजनिक शिक्षाको गुणस्तर सुधारको उद्देश्यका साथ विद्यालयका लागि मेरो एक दिन अभियानकोसमेत घोषणा गरिएको छ । दिवसका दिन घोषणा गरिएको कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बुटवल उपमहानगरपालिका र विभिन्न शैक्षिक संस्थाहरुले सहकार्यको प्रतिबद्धता जनाएका छन् । देविनगरस्थित नवीन स्कुलको सभाहलमा आयोजित समारोहमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले विद्यालयका लागि मेरो एक दिन अभियानको घोषणा गर्दै गुणस्तरी शिक्षाको विकासका लागि सरोकारवालाहरु सबैका बीचमा सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले सरोकारवालाहरुले आ–आफ्नो दक्षता, विज्ञता तथा गच्छे अनुसार विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक र नैतिक पक्षमा योगदान गर्न आग्रह गर्दै आफुले पनि सोही अनुसार गर्ने प्रतिबद्धता गर्नुभयो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले दिवसका अवसरमा घोषणा गरिएको विद्यालयका लागि मेरो एक दिन अभियानमा सबैलाई सामेल हुन आग्रह गर्नुभयो । उहाँले गुणस्तरी शिक्षाको विकास नै आजको आवश्यकता रहेको भन्दै समृद्धिको अभियानलाई सार्थक बनाउने दक्ष जनशक्ति उत्पादनमा सबैको चासो जानुपर्नेमा जोड दिनुभयो । समृद्ध बुटवल ः सुखी बुटवलबासीको नारा अनुरुप नगर सरकार केन्द्रित भएको उहाँको भनाइ थियो ।