ओली सरकारबाट यी १० मन्त्रीहरु विदा हुँदै, नयाँ को–को आउँदैछन ? [नामसहित]

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा भएका केही मन्त्रीहरुको काम सन्तोषजनक नभएपछि सरकारको आलोचना सुरु भएको छ । यो सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी थाल्नु भएको छ । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको राजीनामा माग्ने र उनीहरुको सट्टा नयाँ मन्त्रीहरु नियुक्त गर्ने संकेत देखिएको छ ।

बालुवाटार स्रोतका अनुसार सरकारको आलोचना गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र जनार्दन शर्मा र सरकारसँग नरम रहेका फम्फा भुसाल, देवेन्द्र पोडेल र छबिलाल विश्वकर्मा मन्त्री बन्ने सम्भावना बलियो भएको छ । त्यसैगरी बर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेबारी दिने तयारी भइरहेको बताइएको छ । तर, उहाँ यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै टुंगो छैन । स्रोतका अनुसार रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण पुनर्गठित मन्त्रिपरिषद्मा सहभागी गराउने कि नगराउने भन्ने विषय छलफलमै छ । यो सँगै विदा हुनेहरुको नाम पनि अगाडी आएको छ । झण्डै १० जना जति मन्त्रीहरुले राजीनामा दिनसक्ने बताइएको छ । यसमा पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ७ मन्त्री रहेका छन् ।

जानकारी अनुसार पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ मन्त्रीबाट विदा हुने लगभग निश्चित छ । श्रममन्त्री गोकर्ण बिष्ट र अर्थमन्त्री युवराज खतिवडालाई पनि विदा दिने बिषयमा छलफल भइरहेको छ । पुर्व एमालेबाट नयाँ मन्त्रीमा सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, यज्ञराज सुनुवार, कृष्णगोपल श्रेष्ठ, बसन्त नेम्वाङ, महेश बस्नेत, पार्वत गुरुङको चर्चा चलेको छ । यसमा भिम रावलको पनि नाम चर्चामा रहेको छ । त्यसैगरी पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानीमन्त्री बिना मगरलाई विदा तयारी गरिएको छ । पूर्वमाओवादीबाट नयाँ अनुहारमा जनार्दन शर्मा, देवेन्द्र पौडेल र पम्फा भूसाल मन्त्री बन्ने लगभग निश्चित भएको छ । – जनबोली