अमेरिकामा मनाइयो देवकोटा जयन्ती

प्रकाशित मिति:

अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा १११ औं लक्ष्मी जयन्ती साहित्यिक भेला प्रमोद अमात्य, नीरन्जन वाग्ले र महेश गौतमको संयोजन तथा अनेसास नर्थ क्यालिफोर्नियाको सहकार्यमा सम्पन्न भएको छ । गत वर्षहरूजस्तै भाषण, आसन, माला, खादा बिना नै ठीक समयमा कार्यक्रम शुरू भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको म पागल कविता वाचनबाट कार्यक्रम थालनी भयो । पहिलेझैं कार्यक्रम थालनीअघि नै सभाहल खचाखच भरिएको थियो ।

कार्यक्रमको शुभारम्भ प्रमोद अमात्य र नीरन्जन वाग्लेले सबै सर्जक र सहभागीहरूलाई स्वागत गरेर गरेका थिए भने उद्घोषण स्वस्तिका स्वस्तीले गरेकी थिइन् । टिका लम्साल, अच्युत शर्मा, टिका कुमार पुन, सुरेन्द्र वाग्ले, श्रीराम थापा, सर्वज्ञ वाग्ले, स्वस्तिका स्वस्ती, रितादेवी प्रधान, रवीन्द्र पाण्डे, नीता नेपाली, नीरन्जन वाग्ले, प्रमोद अमात्य, नवराज कार्की, मणि दाहाल, महेश गौतम, कृष्णमान श्रेष्ठ, कृष्ण कुमारी वाग्ले, कृष्ण गिरी, गीता बजगाई, गजेन्द्र अधिकारी, मोहन निरौला, दुर्गा दाहाल, दिनेश अधिकारी, विनोद पौड्याल, गीता न्यौपाने, विनोद पौडेल, बाबु आचार्य, एपी उपाध्याय, अन्जना मल्ल श्रेष्ठ र अमर तामाङ्गले कविता, गीत, गजल, मुक्तक आदि सुनाएर महाकवि देवकोटाप्रति साहित्यिक श्रद्धान्जली प्रकट गरेका थिए ।

शान्त वातावरण, स्तरीय रचना, सुमधुर गायन तथा अत्यधिक मात्रामा महिलाहरूको सहभागिता रहनु यस साहित्यक भेलाको विशेषता थियो । साथै, नेपाली पुस्तकहरू प्रदर्शन र विक्रि वितरणमा पनि राखिएका थिए । क्यारोलिना, फ्रेस्नो, सान् फ्रान्सिस्को बे(एरिया र बृहत् साक्रामेन्टो एरियाका नेपालीहरूको कार्यक्रममा ठूलो सहभागिता रहेको थियो ।