नेपाल बहुमुखीको स्थापना दिवसमा अक्षयकोष

प्रकाशित मिति:

सबलपोस्ट / भैरहवा  – भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसर पारी अक्षयकोष स्थापना गरेको छ ।  संस्थाको २२ औं स्थापना दिवसको अवसर पारेर सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा रहेको बिन्ध्यवासिनी मिसुजु निम्न माध्यमिक बिद्यालयको लागी अक्षयकोष स्थापना गरिएको हो । बिद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले अक्षयकोष स्थापन गरिएको कार्यक्रम संयोजक लक्ष्मण ज्ञवालीले जानकारी दिए । उनले अहिले अक्षयकोष स्थापना बापत २५ हजार रुपैया बिद्यालयलाई प्रदान गरिएको बताए ।

स्थापना दिवस तथा अक्षयकोष हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाको उप मेयर उमा काफ्लेले अहिले सहकारीहरु आफ्नो मूल उद्देश्यबाट भटकिदै गएको बताईन । उनले सहकारीहरु बचत संकलन तथा ऋण प्रवाहमा मात्र केन्द्रित गएको अवश्थामा नेपाल बहुमुखी सहकारीले नाम अनुसारको काम गरेकोमा खुशी ब्यक्त गरिन । भैरहवामा कृषि कार्य हराउदै गएको अवश्थामा सहकारीले पुष्प खेती लगायत कृषि कार्यमा लगानी गर्नु सहकारीको मुल मर्म अनुसार रहेको उनले बताईन ।  २०५४ सालमा स्थापना भएको नेपाल बहुमुखी सहकारी संस्थामा ४ सय ५२ जना शेयर सदस्य र २२ जना बाल सदस्य गरि ४ सय ७४ जना सदस्य रहेको सहकारीकी ब्यवस्थापक लक्ष्मी अर्यालले जानकारी दिईन ।

यस्तै सहकारीको शेयर पूजिं १ करोड ७४ लाख ५० हजार १ सय र बचत २ करोड २१ लाख ५९ हजार ७ सय ४९ रुपैया रहेको अर्यालले बताईन । सहकारीले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा जग्गा भाडामा लिई ब्यवसायीक कृषि परियोजना समेत सञ्चालन गरि रहेको छ ।  सहकारीका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी, सहकारीका पूर्व अध्यक्ष भाष्कर आत्रेय, बिन्धवासिनी मिसुज निमाविका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामवृक्ष अहिर, प्रधानाध्यापक चर्तुभुज रेग्मी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक लक्ष्मण त्रवालीले गरेका थिए ।