दरबारमार्ग सामूहिक बलात्कार काण्ड– पीडित युवतीका प्रेमीलाई ५ वर्ष कैद

प्रकाशित मिति:

काठमाडौं– दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तले ५ वर्ष २ महिना जेल सजाय पाएका छन् । काठमाडौं जिल्ला अदालतले सामूहिक बलात्कार काण्डका मूख्य अभियुक्त (पीडित युवतीका प्रेमी) शैलेश कार्कीलाई कैदसँगै पीडित युवतीलाई ७ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । सामूहिक बलात्कार प्रकरणमा मुछिएका अन्य २ अभियुक्तको हकमा भने अभियोगको आंशिक मागदाबी पुग्ने अदालतको ठहर छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको कात्तिक २१ गतेको इजलाशले अन्य २ अभियुक्त विकास गौतम र दीपक श्रेष्ठको हकमा जनही १४ महिना कैद सजाय सुनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने ३ जना अभियुक्तविरुद्ध नै जवर्जस्ती करणी गरेको अभियोगमा सजाय मागदाबी गरेको थियो । ७ माघ २०७४ मा दरबारमार्गको ल्याण्डमार्क होटेलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो । घटनामा उनका प्रेमी भनिएका मुख्य अभियुक्त कार्कीसहित विकास गौतम र दीपक श्रेष्ठको संलग्नता रहेको विषय सार्वजनिक भएको थियो । महानगरीय प्रहरी बृत्त दरबारमार्गले आर्थिक लेनदेनमा घटना मिलाउने प्रयास गर्दा सामूहिक बलात्कार काण्ड सार्वजनिक भएको थियो । – खबरहब