नेपाली सेनाले सामुदायिक रेडियो दाउन्ने सहित नवलपरासी जिल्लाका ४ वटा रेडियोलाई सम्मान

२७ कार्तिक २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
136 Shares


रामु भुषाल / नवलपरासी – भारतीय सीमा क्षेत्रमा केन्द्रित हुन पश्चिम नवलपरासीका सर्वसाधारणहरुले नेपाली सेनालाई सुझाव दिएका छन् । सेना र नागरिकहरुबीचको सम्बन्धलाई नजिक ल्याउन पछिल्लो पटक सेनाले सञ्चालन गरेका कार्यक्रमलाइ भारतसँग सीमाना जोडिएका तराईका सिमावर्ती नाकामा केन्द्रित गर्न उनीहरुले जोड दिएका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार कालीध्वज गण परासीमा आयोजना गरेको ‘नागरिक सैनिक अन्तरकृया’ कार्यक्रममा सहभागी भएका विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरुले उक्त सुझाव दिएका हुन् । कार्यक्रममा पछिल्लो पटक नेपाली सेनाले सञ्चालन गरेका समुदायमा आधारित कार्यक्रम प्रभावकारी बनेको भन्दै ग्रामीण क्षेत्रका स्थानीयलाई अपनत्व हुने गरी कार्यक्रम सञ्चालन गर्न र विभिन्न समयमा भारतीय पक्षबाट हुने कृयाकलापले नेपालीहरुले सास्ती पाएको भन्दै नेपाली सेनाका कार्यक्रम सिमावर्ती क्षेत्रमा केन्द्रित हुनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा सेनाले सञ्चालन गरेका जनचेतनासहितका कार्यक्रमबारे महिलाहरु अनविज्ञ रहेको हुँदा ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी कार्यक्रम लैजान सहभागीले सझाव समेत दिएका थिए । कालीध्वज गणका प्रमुख सेनानी समिर गुरुङले नेपाली सेनाले नवलपरासी जिल्लामा विपद् जोखिम न्यूनिकरण, स्वास्थ्य शिविरलगायत जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिएका थिए ।महासेनानी ईश्वर कुमार श्रेष्ठले नेपाली सेनाले गरेका कृयाकलापका बारेमा सुझाव संकलन र आगामी दिनमा जनस्तरसम्म पुग्नका लागि गर्नुपर्ने कामका बारेमा सुझाव संकलन गर्न सेना र

नागरिकबीचको अन्तरकृया कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रतिनिधि अधिकृत सेनानी रविन कुमार अधिकारीले नागरिक र सेनाबीचको सम्बन्धलाई अझ बढी प्रभावकारी बनाउन देशभरनै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रम अन्तरगत अहिलेसम्म प्रदेश १, २ र ३ मा कार्यक्रम सञ्चालन गरिसकेको बताउँदै प्रदेश ५ मा कार्यक्रम सञ्चालनका लागि नवलपरासीबाट सुरु गरेको जानकारी दिए । कार्यक्रममा नेपाली सेनाले सञ्चालन गरेका कृयाकलापका बारेमा फोटो प्रदर्शनी र लघु चलचित्र प्रदर्शनी गरिएको थियो । सोही अवसरमा नेपाली सेनाले सेनाको विभिन्न गतिविधि र कार्यक्रम निशुल्क प्रसारण गरि सामुदायिक रेडियो दाउन्ने १०३ दशमलव ४ मेगाहर्ज बर्दघाटले सहयोग गरेको प्रति आभार ब्यक्त गर्दै नेपाली सेनाका महासेनानी ईश्वर कुमार श्रेष्ठले सामुदायिक रेडियो दाउने सहित जिल्लाका ४ वटा रेडियोलाई कदर पत्रसहित सम्मान गर्नुभएको छ । समान पत्र ग्रहण गर्दै सामुदायिक रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डेले नेपाली सेनाले उत्पादन गरेको नेपाली सैनिक कार्यक्रम लगाएत सेनाको विभिन्न गतविधिलाई सामुदायिक रेडियो दाउन्नेले आफ्नो स्थापनाकाल देखी नै निशुल्क प्रशारण गरेर सहयोग गरेको र आगामी दिनमा समेत नेपाली सेना संग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभएको छ । सो अवसरमा जिल्लामा रहेका सञ्चारामध्यमका प्रमुख वा प्रतिनिधि, पत्रकार, विभिन्न संघ सथाका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया