ट्रम्पविरुद्ध सार्वजनिक सुनुवाई सुरु

प्रकाशित मिति:

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिक सुनुवाई सुरु भएको छ । आगामी वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोपको छानविनका क्रममा सार्वजनिक सुनुवाइ गरिएको हो ।अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गर्न थालिएको हो । पहिलो सुनुवाइ युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलरसँग भएको छ ।सुनुवाइका क्रममा उनले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध युक्रेनले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले भने आरोपलाई राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् । महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो ।यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ । तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाइ बहुमत आवश्यक हुन्छ । यो मुद्दामा ट्रम्पको दलको पकड रहेको माथिल्लो सदनबाट त्यो पारित हुने सम्भावना कम छ ।