भारविरुद्ध नेपालः पवनको अर्धशतक, मध्यम लक्ष्य

प्रकाशित मिति:

ढाका – क्रिकेटर पवन सरार्फले अर्ध शतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटियो । एक समय कमजोर अवस्थामा रहेको नेपाललाई पवनले उत्कृष्ट ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । पवनले ४९ बलमा ७ चौका र २ छक्का सहित ५६ रनको योगदान दिए । पवनले ४१ ओभरको पहिलो बलमा यश राथोडलाई चौका प्रहार गर्दै सिनियर टोलीको लागि आफ्नो पहिलो अर्ध शतक पुरा गरेका थिए । उनले ३९ बलमा अर्ध शतक पुरा गरेका हुन् । ४५ ओभरको तेस्रो बलमा सौरभ दुबेले पवनलाई एलवीडब्लू आउट गरेका थिए ।

पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । पहिलो बलमै एलबी डब्लूको आउटको अपिल गरेका दुबेले दोस्रो बलमा मल्ललाई बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई सरुवाती संकट टारेका थिए । १८ ओभरको चौथो बलमा पार्थ रेखाडेले बोल्ड आउट गर्नुअघि यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका कुशलले ६० बलमा ४ चौका सहित २८ रनको योगदान दिए । पार्थले नै २० ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा क्याच आउट गराए । २९ ओभरको दोस्रो बलमा यश राठोडले सिद्धार्थ देसाईबाट उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई २४ रनमा क्याच आउट गराए । ऐरीले ३१ बलमा ३ चौका प्रहार गरे ।

चौथोविकेटका लागि शरद र दीपेन्द्रबीच ४४ रनको साझेदारी भएको थियो । दीपेन्द्र आउट भएको चार बल पछि शरद ४४ रनमा एलबी डब्लू आउट हुन पुगे । शरदले ७६ बलमा समान १ चौका र छक्का प्रहार गरे । ३४ ओभरको पाँचौ बलमा विनोद भण्डारीलाई ५ रनमा सिद्धार्श देसाईले क्याच आउट गराए । सौरभ दुबेले सोमपाल कामीलाई २ रनमा आउट गर । करण केसीले १६ बलमा समान १ चौका र छक्का सहित २० रनको योगदान दिए । भारतका लागि सौरभ दुबेले ७.५ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । यश राठोडले ७.३ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । पार्थ रेखाडे २ र सिद्धार्थ देसाईले १ विकेट हात पारे ।