तिलोत्तमाका किसानलाई गहुँको बिऊमा ४० प्रतिशत अनुदान

प्रकाशित मिति:

तिलोत्तमा /रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको छ । नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।नगरपालिकाले गत वर्ष पनि गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिऊमा अनुदान दिइएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । किसानबाट माग परिमाण संकलन गरेर भलबारी दल्का स्थित कृषि सेवा केन्द्रमार्फत् बिऊ वितरण गरिएको हो ।नगरपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिऊको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो । नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिऊ उपलब्ध गराएको हो ।

बिहीबार भलबारी स्थित कृषि सेवा केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. ११ मृगौलीका किसान विश्राम कुँवर र रामलगन यादवलाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गर्नुभयो । गहुँ वितरणको व्यवस्थापन कृषि शाखा र कृषि व्यवसाय प्रवद्र्धन समितिको सहकार्यमा भएको छ । गत वर्ष ५२ मेट्रिक टन गहुँको बिऊ वितरण गरिएकोमा यस वर्ष १४५ मेट्रिक टन माग रहेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।नगर उप–प्रमुख जागेश्वरी चौधरीले बिऊको सदुपयोग गरी कृषि उत्पादन बढाउन किसानहरुलाई आग्रह गर्नुभयो । गत वर्ष अनुदानमा उन्नत जातको बिऊ दिएकाले गहुँ उत्पादन २० प्रतिशतले बढेको कृषि शाखा अधिकृत जीवन आचार्यले बताउनुभयो । तिलोत्तमाको वडा नं. १३, १४, १६, १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ । कार्यक्रम वडा नं. ७ का कार्यवाहक अध्यक्ष देविलाल पंगेनीको अध्यक्षतामा भएको हो ।