वालिङ नगर बासीको जिज्ञासा सडक,बसपार्क र कृषि क्षेत्रको परिवर्तनमा

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे/वालिङ-वालिङ नगरपालिकाका जनताले सडकको स्तर उन्नती, बसपार्कको निर्माण र सञ्चालन, फोहर मैला व्यवस्थापन लगायतको क्षेत्रमा भईरहेका अवस्था तथा प्रगतीको बारेमा जिज्ञासा राखेकाछन् । वालिङ नगरपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाईमा नगरबासीले बिभिन्न प्रकृतिका सेवा प्रवाह र भईरहेका गतिबिधिको बारेमा आ—आफ्ना भनाई राखेका हुन् । उनीहरुले कृषि, उद्यम जस्ता क्षेत्रको दीगो बिकासमा नगरपालिकाको ध्यान जानु पर्ने सुझाब समेत प्रस्तुत गरे । सहभागीहरुले वालिङ नगरपालिकामा सडक चौडाको क्रमसँगै कालोपत्रे गराउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । उनीहरुको भनाई थियो, “बिध्वंस बिना बिकास सम्भव छैन तर काम छिटो हुनु पर्यो ।” बसपार्कको निर्माण छिटो गर्न माग गर्दै सार्बजनिक सुनुवाईका सहभागीले भने, “जथाभाबी पार्किङ गर्ने कामलाई रोक्नु पर्यो ।” त्यस्तै सडक पेटीमा व्यापारीले जथाभाबी समान बेच्न राख्दा पैदलयात्रीलाई समस्या परेको गुनाशो सहभागीको छ ।

कृषि,उद्यम जस्ता क्षेत्रमा नगरपालिकाले ध्यान दिनु पर्ने भन्दै सहभागीहरुले दीगो बिकासमा जोड दिन आग्रह गरे । आँधीखोलाको संरक्षणमा ध्यान दिनु पर्ने अधिकांश सहभागीको जोड थियो । कार्यक्रममा उठेका जिज्ञासा र गुनाशो प्रति स्पष्ट पार्दै नगरप्रमुख दिलिपप्रताप खाँणले जनताको भावना र चाहनालाई केन्द्रमा राखेर आफूहरुले काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले राजनैतिक स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रयास गरिरहेका छौं । ”
नगर प्रमुख खाँणले सडक कालोपत्रे गर्न ठुलो रकम लाग्ने भन्दै १ अर्ब ६ करोड रकमको डिपिआर तयार भईसकेको जानकारी गराउनु भयो । उहाँले संघ र प्रदेशको समन्वयमा नै सडक चौडा बनाउने काम भईरहेको स्पष्ट पार्नु भयो । लामो अध्ययन पछि नगरसभाले सर्बसहमतिमा सडक चौडा बनाउने निर्णय गरेको भन्दै खाँणले घुम्तीहरुको कटानले दुर्घटना न्युनिकरणमा सहयोगी भएको बताउनु भयो । सहरी सञ्चालन ऐन र नियमाली अनुसार नै सडक फराकिलो पारिएको भन्दै यसका लागि वडा अध्यक्षहरुको सहभागीतामा सडक चौडा बनाउने कार्य भईरहेको जानकारी दिनुभयो ।बसपार्क निमार्णका लागि डिपिआर तयार पार्ने काम भईरहेको प्रमुख खाँणले जानकारी दिनुभयो । उहाँले ठाँउ साँघुरो भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा आफूहरुले ध्यान केन्दीत गरेको बताउनु भयो ।

नगर प्रमुख खाँणले कृषि, उद्यम तथा नगरपालिकाका सेवा प्रवाहका बिभिन्न बिषयमा सहभागीहरुले उठाएका जिज्ञासाको बारेमा प्रश्ट पार्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङवाङले स्याङ्जाको शान्ति सुरक्षाको व्यवस्था मजबुद रहेको भन्दै आफूहरु बिकास निमार्णमा सहयोगी बन्ने बताउनु भयो । उहाँले भन्नुभयो, “राजनैतिक नेतृत्वले नीति र कार्य बनाउँछ निजामती कर्मचारी लगायतले कार्यान्वयनमा बिशेष भुमिका रहन्छ । ”
कार्यक्रममा नेकपाका नगर सचिव रमेश अर्याल, कागे्रसका कार्यबाहक नगर सभापति भिमलाल सुवेदी, राप्रपाका देविलाल पाण्डे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले नगरपालिकाको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । नगरप्रमुख खांणको अध्यक्षतामा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा स्वागत उपप्रमुख कल्पना तिवारी र सञ्चालत रेडियो आँधीखोलाका स्टेशसन म्यानेजर तोलकान्त बगालेले गर्नुभएको थियो । वालिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय वालिङको आयोजना र रेडियो आँधीखोलाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिका भित्रका सरकारी कार्यालय, वित्तिय, गैर सरकारी संस्थाका प्रतिनिधी, पत्रकार तथा नगरबासीहरुको उपस्थितिामा सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।