फिल्म फ्लप हुनुमा मेरो के दोष :मिरुना

प्रकाशित मिति:

काठमाडौँ /दुर्भाग्य नै भन्नुपर्छ, फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरले अभिनय गरेका कुनै फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेका छैनन् । भर्सटायल अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन् । यद्यपि, प्रदीपसँग रोमान्स गरेको फिल्म ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो । उनको पछिल्लो रिलिज फिल्म ‘साइनो’ हो । यो फिल्मले पनि बक्सअफिसमा घुँडा टेकेको थियो । लगातार फिल्म असफल हुँदा उनलाई ‘अनलक्की नायिका’ भन्न थालिएको छ । तर, उनी फिल्म असफल हुनुमा कलाकारको दोष नहुने तर्क राख्छिन् । उनी भन्छिन्, ‘फिल्म फ्लप हुनुमा मेरो के दोष रु मेरो काम भनेको कसरी हुन्छ राम्रो अभिनय गर्नु हो । कलाकारका कारणले फिल्म फ्लप हुने भन्ने हुँदैन ।

फिल्म हिट बनाउने भार कलाकारलाई दिनु र लिनु नहुने उनको तर्क छ । ‘तपाईंलाई प्रोडक्सन टिमले अप्रोच गर्दा फिल्म हिट बनाउँछ भनेर होइन, क्यारेक्टरलाई न्याय गर्न सक्छ भनेर लिएको हुन्छ । फिल्म हिट बनायो भने राम्रो कलाकार, बनाएन भने नराम्रो कलाकार भन्ने हुँदैन’, उनले भनिन् । मिरुनालाई लाग्छ कलाकारको काम फिल्म हिट बनाउनु होइन, चरित्रमा डुबेर राम्रो अभिनय गर्नु हो ।
अभिनेत्री मिरुनाले अभिनय गरेका फिल्मले गतिलो व्यापार मात्र होइन, दर्शक र समीक्षकको पनि मन जित्न सकेका छैनन् । फिल्म कसरी नराम्रो बन्छ रु फिल्म राम्रो बन्ने वा नबन्ने भन्ने कुरा स्क्रिप्ट र टीममा निर्भर रहने उनको कथन छ । आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘च च हुई’ को पखाईमा रहेकी उनी स्क्रिप्ट र टिम राम्रो भएको खण्डमा फिल्म पनि राम्रो बन्ने बताउँछिन् ।

चाँडै अभिनेता दयाहाङ राईसँग फिल्म ‘जारी’ मा काम गर्न लागेकी उनले ‘च च हुई’ लाई लिएर आफू उत्साहित रहेको बताइन् । यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् । उनी आर्यनबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछिन् । आर्यनको तारिफ गर्दै उनले भनिन्, ‘उहाँ कलाकार मात्र होइन ‘ह्युमन विइङ’ पनि राम्रो हुनुहुन्छ । उहाँको ‘सेन्स अफ ह्यूमर’ एकदमै राम्रो छ ।’