यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा डिला संग्रौलाले असुरक्षित सडकप्रति चिन्ता व्यक्त गरेकी छिन् । उनले सडक दुर्घटनाको तथ्याङ्कप्रति चिन्ता व्यक्त गर्दै यसप्रति सचेत रहन आग्रह गरेकी हुन् । उनले भनेकी छिन् ‘हरेक दिन नेपालका सडकमा कैयौं सर्वसाधारणको ज्यान गइरहेको छ । सयौं घाइते भइरहेका छन् । सरकारले अत्यधिक सजगता अपनाएर सुरक्षा व्यवस्था कडा पारेको भनेको दशैँ, तिहारको बीचमा (१०–१२ दिनमा) भएका सडक दुर्घटनाहरुमा मात्र झन्डै १५० जनाको ज्यान गएको छ । तर न सरकार बोल्यो, न सम्बन्धित मन्त्री ।’ उनले अगाडि भनेकी छिन् ‘सबैले अनुभव गरेको र विज्ञहरूले लामो समयदेखि भन्दै आएको कुरा नेपालमा सडक सुरक्षाको स्थिति दयनीय छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सडक दुर्घटनाको तथ्यांक दिनानुदिन बढ्दै प्रतिवर्ष ४,६२२ पुगेको छ ।’

उनले भनिन्, ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अब हुने भनिएको मन्त्रीपरिषद पुनर्गठनमा यातायात मन्त्री रघुवीर महासेठलाई पद मुक्त गर्न, यातायात सुरक्षालाई उच्च प्राथमिकता दिने सांसदलाई मात्र उक्त पदमा नियुक्त गर्न तथा सडक सुरक्षा विधेयक जति सक्दो चांडो संसदमा लैजान निर्देशन दिनुहुन आग्रह गर्दछु ।’ ‘आर्थिक चलखेलमा मात्र ध्यान दिने भनेर विवादमा आएका मन्त्री महासेठले संसदमा हामीले प्रस्तुत गरेको सडक सुरक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल गर्न समय नदिएर आपराधिक कार्य गरेको हाम्रो ठहर छ । त्यसको साथै गत वर्ष माघ महिनामा प्रतिनिधि सभामा भएको सार्वजनिक महत्वको सडक सुरक्षा विषयको प्रस्तावमाथि छलफल हुँदा मन्त्री महासेठले दिएको वक्तव्यमा उनले १५ दिनमा यो गर्छु र १ महिनामा त्यो गर्छु भनेको कुरा संसदको रेकर्डमा सुरक्षित छ । ती कुरा यस १० महिनाको अवधिमा केही पनि पुरा नभएकोले उनले संसदलाई झूक्याएकाले त्यसलाई जनताको अपमानको रूपमा लिएको छु ।’ उनले भनिन् ।