अब सबै जनताले पाउने भए पेन्शन

प्रकाशित मिति:

काठमाडौं – अहिले सरकारी कर्मचारीहरुले मात्रै पेन्शन पाउँने गरेका छन् । अब सरकारले सबै जनतालाई पेन्शन दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकलाई जीवन सुःखमय बनाउन यस्तो गर्न लागेको बताउनु भएको छ । मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई अनुरोध गर्नुभएको छ । आज काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामा सबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा उहाँले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने पनि विश्वास दिलाउनुभयो । बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्शनमार्फत् सहायता दिनेमा उहाँको जोड थियो । मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्शनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको खुलासा गर्नुभयो ।