वीरेन्द्रनगरलाई कर्णालीको नमुना सहर बनाउँ : मुख्यमन्त्री शाही

प्रकाशित मिति:

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई नमुना सहर बनाउनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा रहेको जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सिंगो प्रदेशको प्रतिविम्व राजधानी शहरले दिने भएकोले वीरेन्द्रनगरलाई नमुना शहरको रुपमा विकास गर्नुपर्ने बताए ।उनले वीरेन्द्रनगरलाई नमुना सहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको पनि जानकारी दिए । सडक, खानेपानी, विद्युत, सरसफाई तथा अन्य पुर्वाधार विकासका लागि दीर्घकालीन सोच सहित नयाँ गुरुयोजनाको आवश्यक रहेको उनको भनाई छ ।

मुख्यमन्त्री शाहीले अव्यवस्थित रुपमा भईरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्ने बताए । स्वच्छ, सफा र प्रदुषणरहित सहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको वताउदै उहाँले जथाभावी फोहर फाल्ने बानीको अन्त्य गर्नुपर्ने बताए ।मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले ५० करोड वजेट बिनियोजन गरिएको जानकारी दिए । उनले खानेपानी आपुर्तीको दीर्घकालीन सामाधान नहुँदासम्म विभिन्न उपायहरुको खोजी गरेर पनि तत्कालीन समस्या सामाधान गरिने प्रतिवद्दता व्यक्त गरे ।मुख्यमन्त्री शाहीले पछिल्लोपटकको चिन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण र चक्रपथ निर्माणका लािग आफुले गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिए ।