किन निष्कासिमा परे विश्वकप खेल अगाडिनै यि चार खेलाडी ?

प्रकाशित मिति:

काठमाडौं – फिफा विश्वकप फुटबलको छनोट खेल खेल्नुअगाडि चार खेलाडी अनुशासनहीन कार्य गरेकाले टोलीबाटै निकालिएका छन्। भरपर्दा स्ट्राइकर विमल घर्तीमगरसहित अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङले शुक्रबार राति ठमेलको नाइट क्लबमा गएर मातिने जस्तो अपाच्य कार्य गरेपछि टोलीबाट नै निष्कासित हुनुपरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जनाएअनुसार व्यवस्थापकलाई नै सम्पर्क नगरी उनीहरू ठमेलस्थित डिस्कोमा गएका हुन्। राईले भन्नुुभयो– ‘उनीहरूले निकै लज्जास्पद कार्य गरेकाले टोलीबाट हटाइएको हो। यस्तो अभद्र कार्य गरेकाले अहिलेलाई उनीहरूलाई ड्रप गरिएको छ। उनीहरू व्यवस्थापकलाई नै कुनै खबर नगरी नाइट क्लबमा गएका थिए। उनीहरूमाथि हुने कारबाहीको कुरामा एन्फाको आगामी बैठकले कस्तो निर्णय लिनेछ त्यसमा भर पर्नेछ।’

यसअघि गत वर्ष साउनमा पनि क्लोज क्याम्प छाडेर विमल र अञ्जन यसरी नै नाइट क्लबमा गएका थिए। त्यति बेला उनीहरूसँग अरू दुई खेलाडी पनि थिए। त्यति बेला एन्फा नरम हुँदै उनीहरूलाई चेतावनी मात्रै दिएर प्रतियोगितामा खेल्न दिइएको थियो। यसपटक भने एन्फाले अनुशासनहीन बनेका चारै खेलाडीलाई टोलीबाट नै हटाइदिएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले यही मंसिर ३ गते कुवेतसँग भुटानमा विश्वकपअन्तर्गत छनोट खेल खेल्दै छ। यो खेल नेपाली टोलीका लागि निकै महत्तवपूर्णरूपमा हेरिएको छ। यति महत्तवपूर्ण खेलअगाडि यसरी टोलीकै राम्रा खेलाडीले काण्ड मच्चाइदिएपछि नेपाली टोलीलाई निकै ठूलो धक्कासमेत लाग्ने अनुमान गएिको छ। नेपाली टोेलीले कुवेतविरुद्ध जित्ने लक्ष्य लिएको पनि छ। अञ्जन र विमलको अनुपस्थितिमा नेपाली टोलीका लागि विपक्षीविरुद्ध एट्याक गर्न कठिन हुनेछ। नेपाली खेलाडीमाथि यसको असर पर्न सक्नेछ। साथै प्रदर्शनमा पनि असर हुने देखिएको छ। प्रवक्ता राईले भन्नुभयो– ‘पक्कै पनि राम्रा खेलाडीमाथि भर हुन्छ हरेक टोलीको। तर राम्रा खेलाडी नै टोलीमा नभएपछि त्यसको विकल्पमा अरू खेलाडीलाई मौका दिन परिहाल्छ। नियमित खेलाडी नहुँदा यसको असर केही न केही परिहाल्छ।’

बर्खास्त भएका अञ्जन विष्ट हाल नेपालका निकै भरपर्दा स्ट्राइकरका रूपमा उदाइरहेका खेलाडी हुन्। उनले नेपाली फुटबलको विश्वकप इतिहासमा दोस्रो चरण छनोटमा पहिलो जित दिलाएका थिए। उनले चाइनिज ताइपेईविरुद्धको खेलमा दुवै गोल गर्दा नेपालले विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको थियो। यसै गरी विमल भने बेल्जियममा समेत खेलेका खेलाडी हुन्। उनी हाल माल्दिभ्सको लिग क्लबमा खेलिरहेका छन्। उनी निकै आक्रामक स्ट्राइकर हुन्। उनी नहुँदा नेपाली टोलीको एट्याक रणनीति कमजोर हुने सम्भावना छ। दिनेश र सन्तोष पनि नियमितरूपमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी हुन्। सुवास टोलीमा निष्कासित चार खेलाडीको स्थानमा अहिलेलाई एक खेलाडी सुवास गुरुङ टोलीमा राखिएका छन्। अन्य भने प्रशिक्षक योहान कलिनले नै व्यवस्थित गर्ने राईले बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘हाल सुवासलाई मात्रै टोलीमा समावेश गरिएको छ। अरू खेलाडी प्रशिक्षक कलिनले मिलाउनुहुनेछ।’