कुटनितिक तरिकाले नेपाली भूमि फिर्ता गर्छौ : मन्त्री ज्ञवाली

प्रकाशित मिति:

रमेश विश्वकर्मा/गुल्मी – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कुटनीतिक तरिकाले नेपाली भूमि फिर्ता लिने बताएका छन् । जिल्लाको गुल्मी दरवार गाउँपालिका २ जुभूङ्गमा नवनिर्मित स्वास्थ्य चौकीको आइतबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपालको भूमि मिच्ने अधिकार कसैको नभएकाले मिचिएको भूमि कुटनीतिक तरिकाले फिर्ता लिने बताएका हुन् । भारतले नेपालको भूमि लिपुलेक, लिम्पीयाधुरा र कालापानी आफनो भूभागमा राखेर सार्वजनिक गरेको नक्साको सन्र्दभमा मन्त्री ज्ञवालीले कुटनीतिक तबरबाट नेपाल सरकारले समस्या समाधान गर्ने गरी अगाडि बढ्ने धारणा व्यक्त गरे ।

मन्त्री ज्ञवालीले नेपाल सरकारसँग मिचिएका भूमिको यथेष्ट प्रमाणहरु रहेको दाबी गर्दै नेपाली भूमिमा कसैले आँखा लगाउन नसक्ने बताए । नेपालले छिमेकी देशहरुसंग मित्रता कायम राख्ने काम गर्दै आएको भन्दै मित्रताको नाममा भूमि सुम्पिन नसक्ने बताए । नेपालले अन्र्तराष्ट्रिय स्तरमा धमिलिएको छबीलाई सफा बनाउने कार्यमा वर्तमान सरकारले काम गरेको उनले दाबी गरे । मन्त्री ज्ञवालीले पहिले नेपालमा काम नगर्ने शक्तिको आडमा धम्क्याउने र ठग्ने प्रवृतिको अन्त्य भएको र उनीहरुको ठग्ने खाने गरेका प्वालहरु अहिले पुरै बन्द भएको धारणा व्यक्त गरे । पहिले सानालाई ऐन ठूलालाई चयन हुने गरेको सन्र्दभमा हाल आएर जतिसुकै ठूलो मान्छेहरु भएपनि शक्तिको आडमा र पदका हैसियतले जसले गल्ती गरेपनि उसलाई क्षमादान गर्न नसकिने र कानुनी दायरामा ल्याएरै छाड्ने वर्तमान सकारको प्राथमिकता रहेको बताए ।

जुभुङ स्वास्थ्य चौकीको नवनिर्मित भवन श्रेष्ठ कन्ट्रक्सन गुल्मीले १ करोड ५३ लाख ६१ हजार ६ सय ४५ रुपैयाँमा २०७३ साल असोज १४ गते सम्झौता गरी सम्पन्न गरेको शहरी बिकास तथा भबन निर्माण विभाग संघीय आयोजना कार्यनवयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए । कार्यक्रममा प्रदेश सांसद कमलराज श्रेष्ठ, दिनेश पन्थी, गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोक कुमार थापा, रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, सरकारी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।