यि २ नेतालाई देलान त ओलीले कार्यवाहक ?

प्रकाशित मिति:

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आइतबार दिउँसो चार बजे बस्दैछ । बालुवाटारमा बोलाइएको बैठकमा सरकारको समीक्षा तथा पार्टीका आन्तरिक विषयमाथि छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले भन्यो । “एकीकरणको मोटामोटी काम टुंगिसकेकाले अब सरकारको समीक्षाका बारेमा कुराकानी हुनेछ,” स्रोतको भनाइ छ । पार्टीको केन्द्रीय आयोग र निकायलेसमेत पूर्णता पाइसकेकाले एकीकरणका न्यूनमात्रै काम बाँकी छन् । विभाग, आयोग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चमा सदस्य नियुक्त हुन बाँकी छन् । निकायहरू कार्यकारी कमिटी भएकाले अध्यक्ष र विभाग प्रमुखले बैठक डाकेर नियुक्त गर्न पनि बाधा नपर्ने स्रोत बताउँछ ।

बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री केही दिनयता मन्त्रिपरिषद् हेरफेरबारे परामर्शमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् हेरफेरबारे लामै कुराकानी भएको छ । ओलीले पार्टीका अरू नेताहरूसँग पनि परामर्श गरे पनि उनीहरूले प्रधानमन्त्रीकै तजबिजी अधिकार भएको बताउँदै आएका छन् ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री अमेरिकामा मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा छन् । त्यसैका लागि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह अमेरिका पुगेर आएकी छिन् । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न केही समय लाग्ने हुनाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिने तयारी रहेको स्रोत बताउँछ । प्रधानमन्त्रीय व्यवस्थामा कार्यवाहक प्रधानमन्त्रीले क्याबिनेट बैठक आह्वान गर्न मिल्दैन । यसबारे भने अन्योल कायमै रहेको स्रोत बताउँछ । आजकै बैठकले पार्टी अध्यक्षको कार्यकारी भूमिका प्रचण्डलाई दिने तयारी गरेको स्रोतको भनाइ छ । यसअघि भदौ ५ गते प्लाज्माफेरिसिसका लागि सिङ्गापुर जाँदा पनि प्रचण्डलाई बैठक डाक्न सक्ने अधिकार प्रत्यायोजन गरेका थिए । भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पहिलोपल्ट सचिवालयको बैठक बसेको थियो ।

यद्यपि पार्टीको विधानमै एउटा अध्यक्षको अनुपस्थितिमा अर्को अध्यक्षले बैठक बोलाउन सक्ने व्यवस्था भएकाले सचिवालयबाट निर्णय गराउन आवश्यक नरहेको तर्क पनि केही नेताहरूको छ । “सचिवालयले विधान संशोधन गरेर प्रचण्डलाई एकल अध्यक्षको जिम्मेवारी दिन सक्दैन,” स्रोत भन्छ, “एक अध्यक्ष बाहिर विदेश हुँदा अर्को अध्यक्षले बैठक डाक्न मिल्ने, सक्ने विधानमै व्यवस्था छ । बैठकले थप प्रष्ट्याउने होला ।” आइतबारको सचिवालय बैठकले स्थायी कमिटीको बैठक आह्वान गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यसअघि कात्तिक १८ गते स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको भए पनि अध्यक्ष ओलीको अस्वस्थताका कारण पछाडि धकेलियो । प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गर्न जानुपूर्व स्थायी कमिटी बोलाउने तयारी छ । पार्टी सचिवालय सदस्य झलनाथ खनालले पनि आजको बैठकले केही आन्तरिक निर्णय गर्ने जानकारी दिए । “यसअघि नै थाती रहेका र केही आन्तरिक विषयमा निर्णय हुनेछ,” उनले भने ।-बाह्रखरी बाट