नमोबुद्ध डाँडोबाट खसेको कार रुखमा अड्किएपछि…

प्रकाशित मिति:

काठमाडौं – नमोबुद्धमा शनिबार एउटा कहालीलाग्दो कार दुर्घटना भयो । मानवीय क्षति नभए पनि दुर्घटनाको प्रकृति र स्वरुपले सबैलाई स्तब्ध बनायो । एकछिन शान्तिको प्रतिक मानिने नमोबुद्ध क्षेत्र यही दुर्घटनाले तनावमय बन्यो । नमोबुद्ध अवलोकन गरेर फर्किएको एउटा कार नमोवुद्ध प्रवेशद्वार नजिकैको घुम्तीबाट भीरमा खस्यो । भाग्यवश त्यो कार एउटा ठूलो रुखमा अड्कियो । बा २१ च ६०८८ नम्बरको नयाँ आइटेन कार पुरै कच्याककुचुक भयो। तर कारमा रहेका चालसहित चारजनालाई केही भएन।

स्थानीयहरु कार खस्यो भन्दै चिच्चाउँदै आएपछि प्रहरीसहितको टोली उद्धारमा खटियो । भीरबाट अड्किएको कारबाट चारजनाको उद्धार गरियो । चालक रविन्द्र धामीको टाउकोबाट रगत बगिरहेको थियो । अरु तीनजनाको अवस्था सामान्य थियो । चालक रविन्द्र प्रहरीसँग भन्दै थिए, ‘ब्रेक फेल भयो कि के भयो, मैलै गाडी कन्ट्रोल गर्न सकिनँ एक्‍कासी भीरतिर गयो ।’ तर सडकको अवस्था हेर्दा ब्रेक फेल भएर गाडी खसेको जस्तो नदेखिने त्यहाँका प्रत्यक्षदर्शीले बताए । सामान्य गतिमा माथिबाट ओर्लिरहेको कार एक्‍कासी गति बढ्यो र फिल्मी शैलीमा भीरतिर उछिट्यो । प्रत्यक्षदर्शी यो दृश्य देखेर स्तब्ध भए । श्याम तामाङले भने, एक्‍कासी दौडेर आयो, घुम्तीबाट सिधै भीरतिर हाम फाल्यो । हामीलाई फिल्मजस्तै लाग्यो ।’ सामान्य अवस्थामा गाडीबाट उद्धार गरिएका सवारीधनीले भने, ‘ठूलो भाग्य बाँचियो हजुर । घुम्तीबाट गाडी उछिट्टिएपछि हामी त बेहोस भएका थियौं । भगवान् बनेर रुखले बचायो।’