दाङमा नेमकिपाको प्रचारप्रसार तिब्र

प्रकाशित मिति:

तुल्सीपुर/नेपाल मजदुर किसान पार्टीले दाङ क्षेत्र नं। ३ ९ख को प्रदेशसभा सदस्य उपनिर्वाचनमा प्रचारप्रसारलाई तिब्रताकासाथ अगाडि बढाएको छ । नेमकिपाले सो क्षेत्रमा सुरेश परियारलाई उम्मेदवार बनाएको छ ।प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेमकिपाले ‘वर्गशत्रुलाई खुशी पार्ने नक्कली कम्युनिष्टलाई उदाङ्गो पारौं, कामदार वर्गलार्ई राजनीतिको मूलधारमा ल्याउन नेमकिपालाई जिताऔं’ नारा दिएको छ । साथै ‘दाङ उपत्यकामा प्रदेश राजधानी बनाउने प्रस्ताव अघि बढाउन मादल चिन्हमा मतदान गरौं, जनताको प्रजातन्त्र स्थापना गर्ने संघर्ष अघि बढाउन नेमकिपालाई जिताऔं’ नारा उल्लेख गरी व्यापक पर्चा वितरण गरेको छ ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका चार वटा स्थानीय तहहरु तुल्सीपुर उपमहानगरका वडाहरु, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाका जनताहरुसँग प्रत्यक्ष संवाद गरी नेमकिपाका कार्यकताहरुले मादल चिन्हमा मतदान गर्न अपिल गरेका छन् । खेती स्याहार्ने बेला हुन लागेको निर्वाचनमा नेमकिपाका कार्यकर्ताहरु खेत अलियानमै गएर किसानहरुलाई नक्कली कम्युनिष्टहरुले कम्युनिष्टहरुकै बदनाम गरेको र जनताको प्रजातन्त्रको लागि मजदुर किसानहरुनै राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्नेमा जोड दिएका छन् ।जनताको घरदैलो र चौतारो चौपारीमा पनि नेमकिपाका कार्यकर्ताहरुले कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरासम्मको अतिक्रमित नेपाली भूमि फिर्ता लिन ओली–दाहाल सरकारले आनाकानी गरिरहको विषयमा छलफल चलाएका छन् । देशको सार्वभौमसत्ता र भूअखण्डता जोगाउन नेमकिपालाई मतदान गर्न आह्वान गर्दै नेमकिपाले दाङ उपत्यकामा राजधानी राख्न सके प्रदेशको मात्र होइन, सिंगो देशकै विकासमा महत्वपूर्ण पाइला हुने स्पष्ट पारेको छ ।पहिलो संविधानसभाको बेलामा नै दाङमा केन्द्रीय राजधानी सार्ने प्रस्ताव गर्ने नेमकिपाको उम्मेदवारीलाई दाङका जनताले उत्साहका स्वागत गरेका छन् ।