मनास्लुको चुचुरोमा पुगे तीन सय ५३ आरोही

प्रकाशित मिति:

काठमाडौं/ मनास्लु हिमालको यस सिजनमा तीन सय ५३ आरोहीले सफल आरोहण गरेका छन्। जसमा एक सय ८८ विदेशी आरोही छन्।शरद ऋतु अटम सिजनमा आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लागि दुई सय ६४ विदेशी आरोहीले अनुमति लिएका थिए। अनुमति लिएकामध्ये एक सय ४२ पुरुष र ४६ महिलाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ।विभागका अनुसार विदेशी आरोहीसँगै एक सय ६५ जना नेपाली गाईडले पनि मनास्लुको सफल आरोहण गरेका छन्। विदेशी आरोही र गाईड गरि यो सिजनमा मनास्लुमा तीन सय ५३ जना आरोहीले सफल आरोहण गरेका हुन।

यो सिजनमा मनास्लु आरोहणका लागि ४४ देशका आरोहीले अनुमति लिएका थिए। त्यसमध्ये ४० देशका आरोही चुचुरोमा पुग्न सफल भएका हुन्।मनास्लुमा सन् १९५६ मे ९ मा जापानका तोसिओ इमानिशी पहिलो पटक टेकेका थिए। उनले आरोहण गरेयता मनास्लुमा पहिलो पटक एकै सिजनमा सबैभन्दा धेरै अनुमति लिएको र आरोहण सफल भएको विभागले जनाएको छ।यो सिजनमा मनास्लु आरोहणका क्रममा असोज ११ गते पोल्यान्डकी आरोहीको मृत्यु भएको थियो। सेभेन समिट ट्रेक्सवाट आरोहणमा गएकी ५० वर्षीया रिता डोनेटा ब्लाङ्यको तेस्रो शिविरमा मृत्यु भएको थियो।शुक्रबारसम्मको तथ्यांकअनुसार, ५३ हिमाल आरोहणका लागि ६२ देशका एक हजार दुई सय नौ आरोहीले अनुमति लिएका छन्। उनीहरुबाट ६५ करोड १६ लाख शुल्क लिइएको छ।

चिनियाँ आरोही धेरै-मनास्लु आरोहणका लागि ४४ देशका आरोहीमध्ये चिनियाँ धेरै रहेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। उनका अनुसार चीनका ५८ आरोहीले अनुमति लिएकोमा ५१ आरोहीले आरोहण सफल गरे। जसमा ३४ पुरुष र १७ महिला आरोही हुन्।त्यस्तै ईटालीका २१ आरोहीमध्ये आठ, जर्मनीका १७ आरोहीमध्येमा १२, जापानका १४ आरोहीमध्येमा १० आरोहीले सफल आरोहण गरेका छन्। विभागका अनुसार, अनुमति लिएकोमा हंगेरी, नेदरल्याण्ड, स्लोभाकिया र स्वाजिल्याणका आरोही चुचुरोमा पुग्न सकेनन्।