केकीलाई पूर्व राजा ज्ञानेन्द्रले भने – ‘तपाईंको फिल्म हेरेको छु’

प्रकाशित मिति:

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले नायिका केकी अधिकारीलाई आफूले चिनेको र उनका चलचित्र पनि हेरेको बताएका छन् । शनिबार राति ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा पुगेका ज्ञानेन्द्रले केकीका चलचित्र आफूले हेरेको र उनलाई चिनेको बताएका हुन् ।“रेस्टुरेन्टमा आएपछि हामीलाई ओनरले परिचय गराइदिनु भयो । परिचय गराउने क्रममा ओनरले उहाँ चाहिँ नायिका केकी अधिकारी भनेपछि पूर्व राजाले म उहाँलाई चिन्छु, उहाँका चलचित्र पनि हेरेको छु भन्नुभयो,” केकीले बाह्रखरीसँग भनिन्, “उहाँले मलाई चिन्छु र चलचित्र पनि हेरेको छु भन्नुभयो, मलाई त अचम्म लाग्यो । मेरा लागि एउटा कलाकारका लागि त्यती भन्नु पनि ठूलो कुरा हो ।”

केकीले पूर्व राजाले आफूहरुसँग सौहार्दपूर्ण वातावरणमा सहज तरिकाले तस्बिर पनि खिचेको बताइन् । कमेडी च्याम्पियन ‘शो’को भेन्यू खोज्ने क्रममा मिटिङमा केकीसहित विशाल भण्डारी र रिमा विश्वकर्मा लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्रसहति राजपरिवारका सदस्य सोही रेस्टुरेन्टमा आउने थाहा पाएपछि केही समय कुरेको केकीले बताइन् । “हामी पब्लिक फिगर भएकाले हामी बाल्कोनीबाट तल झर्दैन थियौं, तर उहाँ (पूर्वराजा ज्ञानेन्द्र शाह) तल सबै नागरिक भए ठाउँमा झरेर सबैसँग हात मिलाउनु भयो । मिजासिलो भएर घुलमिल हुनुभयो,” केकीले भनिन् । पूर्वराजा ज्ञानेन्द्रले अवस्था अनुसार आफूलाई परिवर्तन गर्दै वास्तविकता स्विकार गरेको आफूले अनुभव गरेको उनको भनाइ । साढे ११ बजे पुगेका ज्ञानेन्द्र राति १ बजे निर्मल निवास फर्फिएका थिए ।

तस्बिरः लर्ड अफ द ड्रिङ्क्स नेपाल/बाह्रखरी बाट