भारतबाट नेपाल भित्र्याइएको एक ट्रक प्याज बरामद

प्रकाशित मिति:

रौतहट – भारतबाट तस्करी गरेर नेपाल भित्र्याइएको एक ट्रक प्याज सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । भारतसँग सीमा जोडिएको रौतहटको पश्चीमी नाका औरैया, बंकुलबाट तस्करी गरी रौतहटको फतुवा विजयपुरमा पुर्‍याइएको करिब दश टन प्याज सशस्त्र प्रहरीले बरामद गरेको हो । फतुवा विजयपुर नगरपालिका-७ को डुमरीयामा अवैध रुपमा ना२ख ६३०४ नम्बरको ट्रकमा लोड गरी लैजादै गरेको १९१ बोरा प्याज सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जानकारी दिएको ।

प्याजको मूल्य वृद्धि भएपछि भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । भारतीय बजारमा सस्तो पर्ने प्याज नेपाली बजारमा भने महङ्गोमा बिक्री हुने भएकोले सीमा क्षेत्रमा प्याज तस्करी बढेको छ । रौतहटको पश्चीमी नाका बंकुल, औरैया, रामपुरखापलगायतका स्थानबाट तस्करी बढेको छ भने पूर्वी नाका बेलबिछवाबाट समेत मरिच, मटर, मदिरालगायतका साम्रगीको तस्करी बढेको छ । सशस्त्र प्रहरीले बरामद गरको प्याज र ट्रकको मूल्यसमेत गरेर ३४ लाख ५५ हजार कायम भएको ११ नम्बर गण हेड क्वाटरमा प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए । कात्तिक महिनामा मात्रै अवैध रुपमा चोरी निकासी भएर आएको ५१ लाखभन्दा बढीको सामानहरु भन्सार कार्यालयमा बुझाएको उनले बताए । यही वर्षको श्रावणदेखि हालसम्म सशस्त्र प्रहरीले एक करोड ७५ लाखभन्दा बढीको सामान भन्सार बुझाएको छ ।