नक्कली स्टीकर सहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला

प्रकाशित मिति:

आन्तरिक राजस्व कार्यालय भैरहवाले विचाराधीन नक्कली अन्तशुल्क स्टिकर सम्बन्धी मुद्दाको अन्तिम फैसला गर्दै नक्कली स्टीकर सहित पक्राउ परेका ६ जनालाई १० करोड जरिवाना र कैदको फैसला गरेको छ । नक्कली स्टिकर बारे राजस्वले विगत ५ महिना देखि मुद्दा अनुसन्धान गरिरहेको थियो । राजस्वका अनुसार विनोद कुमार सिंह, मोहम्मद आलम गद्दी, कामेश्वर महतो र कुशेश्वर प्रसाद शाह गरी चार जनालाई एक वर्ष कैद तोकिएको छ । उनीहरुलाई प्रतिव्यक्ति जनही २ करोड ९ लाख २७ हजार जरिवाना समेत तोकिएको छ । विनोद कुमार भारतीय नागरिक हुन् । अन्य तीन जना नेपाली नागरिक हुन् । कुशेश्वर फरार छन् । यस्तै समसुद्धिन मुसलमान र भवानीप्रसाद उप्रेतीलाई ६ महिना कैद फैसला गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति १ करोड ४ लाख ६३ हजार जरिवाना तोकिएको छ । समसुद्धिन पनि भारतीय नागरिक हुन् ।

६ मध्ये ५ जनालाई जिल्ला कारागार भैरहवा चलान गरी सकिएको छ भने फरार रहेका कुशेश्वरको खोजी भइरहेको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । कुमेश्वर जनकपुरस्थित साङ्ग्रीला डिष्टिलरी प्रालि संचालक समेत हुन् । राजस्वले नक्कली स्टीकर ल्याउँदा बरामद भएको भारतीय नम्बर प्लेटको टाटा इण्डिगो कार समेत जफत गरेको जनाएको छ । नेपाली नागरिक र दुई जना भारतीयसहित तीन जनाले नक्कली स्टिकर भारतीय नम्बरको गाडीमा राखेर जनकपुरतर्फ लैजाँदै गर्दा गत चैत्र ६ गते ५० यू पी शक्तिको मदिरामा प्रयोग हुने चार लाख थान नक्कली अन्तशुल्क स्टिकरहरु रुपन्देहीमा बरामद गरिएको थियो ।

अन्तशुल्क ऐन २०५८ ले अन्तशुल्क अधिकृतलाई अन्तशुल्कजन्य मुद्दामा सम्बन्धित ब्यक्तिलाई झिकाउने, बयान गराउने, थुनामा राख्ने लगायत प्रचिलत कानून बमोजिम अदालतलाई भए सरहको अधिकारको ब्यवस्था गरेको छ । सोही व्यवस्थालाई टेकेर राजश्वले ६ जनालाई कैद र जरिवाना तोकेको हो ।

अन्तशुल्क ऐनले हाल नक्कली अन्तशुल्क स्टिकरको उत्पादन, पैठारी, ‌ओसारपसार वा भण्डारणलाई सबैभन्दा गंभीर अपराधको रुपमा व्याख्या गरेको छ भने विगो जफत गरि विगोको दुईसय प्रतिशतसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी ब्यवस्था गरेको छ ।