वेद के हो ?जान्नुहोस

३ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


संसारकै प्रथम धर्मग्रन्थको रुपमा हिन्दूधर्मको वेदलाई मानिन्छ । सनातन धर्मको वेदको आधारमा संसारमा अन्य धर्मको उत्पत्ति भएको र उनीहरुले वेदमा भएको ज्ञानलाई नै आफू अनुकुल भिन्न–भिन्न भाषामा व्याख्या गर्दै प्रचलित गरेको मानिन्छ भगवानले ऋषिमुनीलाई सुनाएको ज्ञानको आधारमा वेद लेखिएको हो । त्यसैले वेदलाई श्रुति भनिन्छ । वेदको अर्थ ज्ञान हुन्छ । वेद पुरातन ज्ञान–विज्ञानको अथाहा भण्डार हो ।

वेदमा मानव जीवनको हर समस्याको समाधान उल्लेख छ । वेदहरुमा ब्रह्मा (ईश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीतिरिवाज आदि सबै विषयसँग सम्बन्धित ज्ञानले भरिएको पाइन्छ ।हिन्दू धर्मका मुख्य वेदका रुपमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेद रहेका छन् । शतपथ ब्राह्मणको श्लोकअनुसार अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरेर चार वेद प्राप्त गरेको उल्लेख छ । तीन वेद (ऋग्वेद, यजुर्वेद र सामवेद)लाई अग्नि, वायु, सूर्य (आदित्य) र अथर्ववेदलाई अंगिराबाट उत्पन्न भएको मानिन्छ । वेदलाई सबैभन्दा प्राचिन पुस्तक मानिन्छ । त्यसैले कुनै पनि व्यक्ति तथा स्थानको नाम वेदहरुसँग सम्बन्धित राखिनु स्वभाविक हो ।

रामायाण, महाभारत आदिमा आएको शब्दबाट आजको समयमा पनि मानिस तथा स्थानको नामाकरण हुने गर्दछ ।मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेजको रुपमा वेदलाई लिइन्छ । वेदहरुको २८ हजार पाण्डुलिपी भारतको पुणेस्थित ‘भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युट’मा सुरक्षित राखिएको छ । यसमा ऋग्वेदको ३० पाण्डुलिपी अत्यन्तै महत्वपूर्ण रहेको बताइन्छ । यसलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यूनेस्कोले ऋग्वेदको १८०० देखि १५०० ईशा पूर्वको ३० पाण्डुलिपीलाई सांस्कृतिक धरोहरको सूचीमा राखेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया