प्रधानमन्त्री कार्यालयलाई मिडियामैत्री बनाउँछु : सल्लाहकार थापा

प्रकाशित मिति:

काठमाडौं – नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयमा एक पत्रकार सम्मेलन गरी औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन्। उनले आफू लोकतन्त्र र प्रेस स्वतन्त्रतामा विश्वास गर्ने भएकाले प्रधानमन्त्री कार्यालयलाई मिडियामैत्री र परदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा मंगलबार सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिबीच पद बहाली गर्दै थापाले आफू सञ्चार क्षेत्रबाटै आएकाले सञ्चारमाध्यमसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। थापाले सञ्चारकर्मीसँग भने, ‘म दोस्रो पटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएको छु। सूचना प्रविधिको विकाससँगै विस्तार भएको सञ्चार क्षेत्रको आवश्यकतालाई समेत ध्यानमा राखी प्रधानमन्त्री कार्यालयलाई सकेसम्म सञ्चारमैत्री बनाउने छु। मेरो कार्यकक्ष सञ्चारकर्मीका निम्ति सधैँ खुल्ला रहने छ।’

थापाले सूचनाको आदानप्रदानमा सहज होस् भनेर नै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, विदेश मामिला सल्लाहकार र प्रेस सल्लाहकारको कार्यालय एकै ठाउँमा राखिएको पनि जानकारी दिए। उनले वर्तमान अवस्थामा सञ्चारमाध्यममा आउने विभिन्न किसिमका समाचारबारे पनि आफू जानकार रहेको बताएका थिए।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले थापालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो। पदबहालीका क्रममा पूर्व प्रेस सल्लाहकार अर्याल आफ्नो पत्रकारिताको समेत अग्रज रहेको बताउँदै उनीसँग आफूले धेरै सिकेको पनि स्मरण गरे। थापाले ९ वर्षअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए। नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापा बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुन्। उनले साविक एमालेको मूखपत्र नवयुगको पनि सम्पादकको भूमिका निभाएका थिए। थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन्।