प्रेम पुन्थोकी /काठमाण्डौ

गत हप्ता भारतको चेन्नईमा सम्पन्न अन्तराष्ट्रिय स्पर्धा  ‘कोटाक ह्विल चियर म्याराथन २०१८’ मा दोस्रो भएर स्पाइनल कड इन्जुरीको समस्या भएका एक युवा रनर राम बहादुर तामाङ स्वदेश फर्किए । गुमनाम आफ्नै प्रयासमा दौडमा पुगे , उसै तरिकाले फर्किए । हामीले उनलाई भेट्यौं र कुरा गर्ने कोशिष गर्यौं , नालीबेली खोतल्न :

सामाजिक संजालबाट भारतको चेन्नईमा कोटाक ह्विलचेयर म्याराथन २०१८ हुँदैछ भन्ने थाहा पाएका राम बहादुर तामाङलाई मनमा एउटा हुटहुटी जाग्यो । अनलाइन फर्म भर्ने बिकल्पलाई छोपेर सहभागिता त जनाउने भए तर नेपालबाट तामिलनाडु सम्मको ह्विल चियरमा बसेर गाडिको यात्रा चानचुने थिएन । प्लेनमा जाउँ कि ? भन्ने पनि लाग्यो तर आतेजाते ३६ हजार लाग्ने भने पछि त्यसबाट पछि हटे । म्याराथनमै सहभागिता जनाउनका लागि एक झापाली साथी पवन अधिकारी थिए र अर्का एक जना दाजु पनि सँगै जाने भए । ‘तीन दिन तीन रातको यात्रा साह्रै गाह्रो भयो’ तामाङले भने ‘तर मनमा एउटा जोश थियो, छुट्टै उत्साह थियो आखिर जसरी भए पनि पुगियो गन्तब्यमा ’ ।


बिभिन्न देशका ८० जना सहभागीहरुले भाग लिएको ह्विल चियर म्याराथनमा नेपालबाट प्रतिनिधित्व गरेका त्यस माथि आफ्नै प्रयासमा त्यहाँ पुगेका उनीहरुलाई असहज महसुस पनि भएको थियो । उता बर्षौं त्यस मै तयारी गरेका अन्य म्याराथन रनर र उत्तिकै आधुनिक ह्विल चियर , आफ्नो सामान्य मोडिफाइ गरेको ह्विल चियर छ, ‘ तर जे सुकै होस् त्यहाँ सम्म पुग्नु मै खुसीको कुरा थियो’ उनले थपे ‘त्यस माथि नेपाल देखी त्यति लामो यात्रा पार गरेर पुगेकोमा स्थानीयले देखाएको सदासयता र स्वागत बिशेष थियो ’ ।
सेप्टेम्बर २ को मध्यरातमा तामाङ अरुसँगै दौडिए, पुग्नु थियो २१.१ किलो मिटर । आयोजकले एक जना लाइन म्यान दिएको थियो , उसैलाई पछ्छाए । नयाँ ठाउँ नयाँ बाटो उनका लागि नौलो लाग्नु त स्वाभाविक थियो अपशोच उनकै लाइन म्यानलाई पनि बाटो नौलो रहेछ बिचमै दश मिनेट फरक बाटोमा पुगेर हराए , ‘कतैबाट हेर्न मिल्दो रहेछ , तिमीले बाटो बिरायौ, सही ट्रयाकमा फर्क भन्ने आदेश भयो ’ तामाङले भने ‘त्यति बेला सम्म पाँच जना सहभागी अगाडि लागिसकेछन् ’ । भाग्य नै खराब रहेछ भनेर सोंच्दै उनी दौड्न छाडेनन् , अन्तत एक जना सहभागी भन्दा ३ मिनेट पछि परेर दोस्रो भए । खुसी त त्यति बेला लाग्यो , बाटो बिराएर पनि दोस्रो भएका उनलाई सबैले भने ‘गोर्खाली भनेका साँच्चिकै बहादुर हुँदा रहेछन्’ । ‘बाटो बिराएर अर्को दिशामा जाँदा कसैले पनि सोंचेका रैनछन् कि यसले कुनै उपलब्धी हासिल गर्छ भनेर , त्यति बेला म अघोषित प्रथम भएँ, सबैले फोटो खिँचे, हौसला बढाए ’ उनले थपे ‘तर सबै भन्दा दु ःखी मेरो लाइन म्यान थियो, मलाई अंगालो मारेर रोयो र भन्यो सरी मैले गर्दा तिमी फ्रस्ट हुन पाएनौ ’ । सबैलाई थाहा थियो बाटो नबिराएको भए उनी कम्तिमा १५ देखी २० मिनेट अगाडि नै गन्तब्यमा दुरी पार गर्थे । त्यति बेला उनले साथीलाई अन्जानमा कहिले काँही यस्तो हुने भन्दै उल्टै सान्त्वना दिए ।


यो अवस्थामा, त्यति पर पुगेर म्याराथन दौडेर फर्किएका उनलाई आफ्नै सर्कलका साथी तथा स्टाफहरु बाहेक कसैले सोध खोज गरेको छैन , खेलकुद परिषदले पनि सम्पर्क गरेको छैन ? उनले भने ‘कसैले गरेको छैन , म पनि सम्पर्कमा गइन ।’ । उनले काम गर्ने संस्थाका कर्मचारी साथीहरुले जाने बेला उठाएर १० हजार दिएका थिए , आफ्नै एक महिनाको तलब र दाजुले १० हजार थपे पछि प्रतियोगितामा हिँडेका उनलाई जाने बेला बेस्ट अफ लक र फर्कदा बेलकम कार्यक्रम साथीहरुले गरे ।


स्विमिङ्ग तथा बास्केट बलका पनि खेलाडी उनी कसैले सहयोग गर्ने नगर्ने कुरासँग त्यति चासो नराख्ने भए पनि यस्ता अन्तराष्ट्रिय प्रतिस्पर्धामा अन्य देशका खेलाडीलाई राज्यले दिएको र गरेको सहयोगले कहिले काँही नलोभिने भने हैनन् । ‘अन्य देशमा हामी जस्ता अपाङ्गता भएका खेलाडीलाई पनि प्रयाप्त तालिम, खानपान, सुबिधायुक्त ह्विल चियर लगायतको व्यवस्था छ ’ उनले थपे ‘हाम्रो मा अरु त के अपांगमैत्री खेल अभ्यासको मैदान पनि छैन ।’


उनको ह्विल चियर माथि बसेर गरेको प्रगतिको परिचय यति मात्रै हैन , ५ बर्ष पहिले २०७० मा उनले नमोबुद्ध देखी लुम्बिनी सम्मको ३६६ किलो मिटर यात्रा ह्विल चियरमा गरेका थिए । उति बेला एक अमेरिकी महिला रोजी रोजल्याण्डले ३६२० डलर सहयोग गरेकी थिइन् भने त्यसकै लागि उनले सांगीतिक अभियान चलाएर ८० हजार जुटाएका थिए । त्यस्तै मुम्बइमा भएको बास्केटबल प्रतियोगितामा प्रथम र बंगलादेशमा दोस्रो भएको अनुभव उनीसँग छ । उमेरले ३७ पुगेका उनमा अझै एसियन तथा पारा ओलम्पिक सम्म खेल्न पाए हुन्थ्यो भन्ने आशा छ त्याहाँ पुग्ने कसरी उनी आफै अल्मल छन् , भन्छन् ‘मैले गरेर देखाउँछु , मलाई अवसर दिनु पर्नेले देओस् ’ ।

को हुन ? राम बहादुर तामाङ
खेलकुदमा उचाई बढाउँदै लगेका राम बहादुर तामाङ जन्मजात अपांगता भएका व्याक्ति होइनन् । सिंन्धुपाल्चोकमा २०३९ सालमा जन्मिएका उनी २०६७ सालमा सिंन्धुपाल्चोक मै भएको बस र्दुघटनामा परि कम्मर देखी तल नचल्ने समस्यामा परेका हुन् । उमेरको २७ बर्ष मै त्यो अवस्थामा पुगेका उनलाई २ बर्ष सम्म आफुले केही गर्न सक्दैन जस्तो लाग्थ्यो । हाँसी खुसी जिउँदै गरेको जीन्दगी जीरो त्यसमा पनि गतिहिन बन्दा उनी कुनै समय डिप्रेसन मै पुगे । तर जे भए पनि बाँकी जीवन जिउनु थियो । उनीसँग ह्विल चियरको बिकल्प थिएन । आफैसँग संघर्ष गरे , बिभिन्न तालिमहरु लिए । अहिले उनले जीवन र अपांगताको परिभाषलाई बदलेर हेर्छन् भन्छन् ‘हामी सपांग भन्दा कुनै कुरामा कमी छैनौं मानसिक रुपमा अपांग छैनौं, मनोवल उच्च छ, हामीसँग रहर , उत्तेजना, आवेग, आर्कषण सबै सपांगमा जस्तै छ ।’ उनका अनुसार अपांगता भएकाहरुसँग अब बाँच्नका लागि गर्नुपर्ने संघर्ष छ त्यो पनि प्रयासले सबै संभव बनाउँछ, उदाहरण उनै काफी छन् । स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रले संचालन गरेको भ्वाइस् कार्यक्रममा उनी जस्तै शारिरिक रुपमा अपांगता भएकाहरुलाई काउन्सिलिङ्ग गर्छन् । उनले पुराना कुरा बिर्सिएका छन् । उनीसँग जुत्ता, कपडा सिलाउने देखी थुन्से, डोका,डाला, मुढा बुन्ने सम्मका सिप उनीसँग छ । बाद्यबादन देखी गायकी सम्मको क्षमता उनीमा छ । उनलाई यस कुरामा घमण्ड हैन तर आफु जस्तै शारिरिक समस्यामा परेकाहरुले आफुलाई देखेर केही सिकुन् भन्ने उनको चाहना मात्र छ , र हरेक उनका अभियानले पनि त्यति कुरामा फोकस गरेको हुन्छ । १ छोरा र १ छोरीका पिता उनमा पारिवारिक जिम्मेवारी पनि उत्तिकै छ, श्रीमतीले स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र मा क्लिनरको रुपमा काम गर्छिन् । आफ्नोे र परिवारको जीवनसँगै आफु जस्तै स्पाइनल इन्जुरी को समस्या भएर बाँचेकाहरुको लागि अझै संस्थागत भएर काम गर्ने रहर उनमा छ भन्छन् ‘ एउटा नेटवर्क त छ तर के गर्नु तर काम खासै देखिएको छैन, यो एक्लैले चाहदैमा र गर्दैमा गर्न सकिने कुरा पनि हैन ।’

 

तस्बिरहरु :  राम बहादुर तामाङ बाट