काठमाडौं– प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छिन् । मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारीमा रहेको बेला बुधवार विहान तुम्बाहाम्फेसँग भेटगरी प्रधानमन्त्री ओलीले राजीनामा दिन आग्रह गर्दै मन्त्री बनाउने आश्वासन दिएका थिए । तर तुम्बाहाम्फेले भने सभामुख पनि नभएको बेलामा संसद खालि राखेर आफू मन्त्री नबन्ने बताएको बालुवाटार निकट श्रोतले बतायो ।
‘अहिले सभामुख पनि नभएको बेलामा संसदलाई खालि राखेर म मन्त्री बन्दिनँ’ बालुवाटार श्रोतले तुम्बाहाङ्फेलाई उदृत गर्दै भन्यो ।तर उनले ‘केही समयपछि विचार गरौलाँ’ भनेको स्रोतको दाबी छ । उपसभामुख तुम्बाहाम्फेले भने मन्त्री बन्ने विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताइन् । सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिएसँगै सभामुख पद खाली रहेको छ ।