व्यावसायी भन्छन् : निजी अस्पताल र मेडिकल कलेज पोस्न अस्पतालका सटर खाली गराइदैछ

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर व्यवसायीहरुले निजी अस्पताल र मेडिकल कलेजलाई पोस्न प्रदेश सरकारले हचुवाको भरमा सटर खाली गराउन लागेको आरोप लगाएका छन् । प्रदेश सांसद भोजप्रसाद श्रेष्ठका छोरा सुनिल श्रेष्ठको टेण्डर नपरेपछि सटरहरु खाली गराउने खेल शुरु भएको व्यावसायीको आरोप छ । उनीहरुले करार सम्झौता अनुसार पांच वर्ष नै व्यवसाय गर्न दिन माग गरेका छन् । व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी मुलुकी ऐेन २०७४ धारा ५४१ वमोजिम करार सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न पाउनुपर्ने माग गरे ।

अस्पतालका सटरहरुमा व्यवसायीको ६३ करोड रुपैयां लगानी भएको तर सम्झौताको मसि सुक्न नपाउंदै कुनै विकल्प नदिई खाली गर्न खोज्दा व्यवसायीहरुमा ठूलो पीडा भएको र निराशा छाएको सटर व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद पौड्यालले बताए । प्रदेश सरकारले अस्पतालको डीपीआर नै नबनाई हचुवाको भरमा गौरवको आयोजना भनेर सटर खाली गराउन खोजेको व्यावसायीहरुले स्पष्ट पारे । ‘गौरवको आयोजना हो भने खोइ कहां छ डीपीआर, रातो किताबमा कहां लेखिएको छ हामीलाई देखाउनुप¥यो’– पौड्यालले भने–‘हामी विकास विरोधी होइनौं तर हचुवाको भरमा डिनरमा बसेर गरेको निर्णय मान्दैनौं ।’

सम्झौता अनुसार पांच वर्ष व्यवसाय पाउनुपर्ने व्यवसायीका मागप्रति बुटवलका व्यावसायिक संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् । बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराई,रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल,होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी,घर बहाल सरोकार महासंघका अध्यक्ष शंकर कोइरालाले सरकारले व्यावसायीका व्यवहारिक समस्यालाई बेवास्ता गरेको बताए ।