साफ च्याम्पियनसिपमा फेरि नेपाल एकपटक इतिहास कोर्न बाट चुक्र्यो

माल्दिभ्स फाइनलमा

प्रकाशित मिति:

काठमाडाैं – साफ च्याम्पियनसिपमा फेरि नेपाल एकपटक इतिहास कोर्न बाट चुकेको छ। बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपालको पहिलो पटक फाइनल खेल्ने सपना चकनाचुर भएको हो। बंगलादेशको बंगबन्धु रंगशालामा वर्षासँगै सुरु भएको खेलमा नेपालले पहिलो हाफको नवौं मिनेटमानै गोल खान पुग्यो। नेपालका बिमल घर्तीमगरले माल्दिभ्सका अली फासिरलाई लडाएपछि पाएको फ्रि किकमा अक्रम अब्दुल घानीले सुन्दर गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। पहिलो हाफको सुरुवातमा केहि फितलो खेल प्रदर्शन गरेको नेपालले २८ औं मिनेटमा वर्षाले केहि मिनेट खेल प्रभावित भएपछिको खेलमा गोलका लागि केहि राम्रा अवसर सिर्जना गरेपनि बराबरी गोल भने फर्काउन असफल रह्यो र पहिलो हाफको खेलमा माल्दिभ्सले १–० को अग्रता कायम गर्‍याे।

पहिलो हाफको तुलनामा दोश्रो हाफको सुरुवातदेखिनै आक्रामक खेल पस्केको नेपालले बराबरी गोलका लागि थुप्रै प्रयास गर्‍याे तर माल्दिभ्सको डिफेन्सलाइ चिर्न असफल रह्यो। बराबरी गोलको खोजि गरिरहेको नेपालले जब ८४ औं मिनेटमा दोस्राे गोल खान पुग्यो तब फाइनल प्रवेश सम्भावना लगभग समाप्त भएको थियो। माल्दिभ्सका लागि दोस्राे गोल इब्राहिम वाहिद हसनले गरे। दोस्राे गोल खाएको २ मिनेटपछिनै नेपालले तेस्राे गोल खान पुग्यो। हसनले आफ्नो टोलीका लागि व्यक्तिगत दोस्राे र टोलीका लागि तेस्राे गोल गर्दै नेपालको पहिलो पटक फाइनल प्रवेश गर्दै इतिहास रच्ने सपना चकनाचुर पारे। उत्कृष्ट खेल पस्केका हसनले ८६ औं मिनेटमा अब्दुल्लाह असदुल्लाहको पासमा डिबक्स भित्रबाट गोल गरे। आजको पराजयसँगै नेपाल साफ च्याम्पियनसिपको इतिहासमा ६ पटक सेमिफाइनलबाटै घर फर्केको छ।

आजै हुने अर्को सेमिफाइनलमा भारत र पाकिस्तानबीच खेल हुनेछ। यो खेलको विजेताले फाइनलमा माल्दिभ्सको सामना गर्नेछ।