सरकारी खर्चमा अव विदेशमा उपचार गर्न जान नपाईने

जनस्वास्थ्य विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित

प्रकाशित मिति:

काठमाडौं– सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्था सहितको जनस्वास्थ्य विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको छ। विधेयकमा प्रचलित कानूनमा जे लेखिएको भएपनि कुनैपनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नब्यहोर्ने प्रावधान राखिएको छ।

सरकारले वर्तमान तथा पूर्व विशिष्टलाई सरकारी कोषबाट विदेशमा उपचार गर्न आर्थिक सहयोग गर्दै आएको थियो। तर अब यो व्यवस्थापछि कोही पनि व्यक्तिलाई राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्न सरकारले खर्च दिन पाउने छैन।

जनस्वास्थ्य विधेयकमा गगन थापाले स्वदेशमा उपचार नगरि आफूखुसी विदेशमा उपचार गराउने कुनैपनि व्यक्ति९ वर्तमान तथा पुर्व विशिष्ट लगायत०लाई कुनैपनि निकायवाट कुनैपनि नाममा सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलव्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए।

समितिले सो प्रस्ताव स्वीकार गर्दै त्यसलाई थप स्पष्ट र विस्तारित गर्दै समितिले यस्तो प्रावधान सहित विधेयक पारित गरेको हो।

अब कुनै पनि नेपालीले विदेशमा उपचार गर्दा खर्च आफैले व्यहोर्नुपर्ने छ। विगत केही वर्षयता विदेशमा उपचार खर्च र आर्थिक सहायताका नाममा सरकारी रकमको दुरुपयोग हुने क्रम बढ्दो थियो। गगन थापा स्वास्थ्य मन्त्री हुंदा कार्यविधि बनाएर रोक्ने प्रयास गरे पनि गृह मन्त्रालय तथा अन्य विभिन्न नाममा सरकारले प्रचलित अन्य नियममा टेकेर विशिष्ट व्यक्तिललाई सहायता उपलब्ध गराउदै आएको थियो। यसलाई रोक्न कानूनमै उल्लेख गर्नुपर्ने गगनको प्रस्ताव थियो।

अब संसदले प्रस्तावित ऐन पारित गरेपछि प्रचलित कानुनमा अन्यत्र जेसुकै भएपनि सरकारले विदेशमा उपचार गर्न रकम उपलब्ध गराउने छैन। राज्यले विशिष्ट वा अरु कुनै नाममा गरेको विभेद अन्त्य हुनेछ भने निति निर्माता र शासन संचालन गर्नेहरूले सरकारी कोष दुरुपयोग गरेर विदेश उपचार गर्न जाने कुरा अन्त्य हुनेछ। स्वदेशी स्वास्थ्य संस्थाको गुणस्तर वृद्धि हुनेछ।

विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिमा ती संशोधन प्रस्तावमा दफाबार छलफल हुँदै पारित भएको हो। समितिबाट पारित भएको विधेयक अब संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि उक्त विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने छ।