दक्षिण कोरियामा बेरोजगारी दर ८ वर्षयताकै उच्च बिन्दुमा

प्रकाशित मिति:

सोल (दक्षिण कोरिया) । सन् २०१८ को अगष्टमा दक्षिण कोरियामा बेरोजगारी दर ८ वर्षयताकै उच्च बिन्दुमा उक्लिएको छ । अनिवार्य न्यूनतम् तलब बढेसँगै रोजगारी कटौती हुँदा बेरोजगारी दर बढेको हो । यसले राष्ट्रपति मुन जेई–इनको आर्थिक नीति प्रति आम जनतामा निराशा थप बढाउने र राजनीतिक चुनौती पनि थपिने निश्चित प्रायः भएको विश्लेषण गर्न थालिएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा १ लाख ३४ हजार बेरोजगार बढेको सरकारी प्रतिवेदनले देखाएको छ । योसँगै समीक्षा अवधिमा मौसमी समायोजनपछिको बेरोजगारी दर बढेर ४ दशमलव २ प्रतिशतमा उक्लिएको छ । यो श्रम बजारको सन् २०१० को जनवरीयताकै सबैभन्दा खराब प्रदर्शन हो । त्यति बेला विश्वव्यापी वित्तीय सङ्कटका कारण १० हजार रोजगारी गुमेको थियो ।

सरकारले आफ्नो तलब नीतिमा समायोजन गर्न आवश्यक भएको अर्थमन्त्री किम डाङ–येउनले बुधवार बताएका छ्न् । उनको यस अभिव्यक्तिले भविष्यमा कम्पनीमाथि तलब वृद्धिको दबाब कम हुन सक्ने सङ्केत दिएको छ । सरकारले सत्तारुढ दल र राष्ट्रपति कार्यालयसँग न्यूनतम तलब वृद्धिको गति सुस्त बनाउनेबारे छलफल गर्ने किम दोङ–येउनले बताए ।

यद्यपि, तत्कालै श्रम बजारमा सुधार आउने अपेक्षा भने आपूmले नगरेको उनको भनाई छ । अगष्टमा खुद्रा र आवास क्षेत्रमा सबैभन्दा बढी अर्थात् २ लाख २ हजार रोजगारी गुमेको छ । प्रतिवेदनअनुसार म्यानुफ्याक्चरिङ उद्योगमा पनि कुल १ लाख ५ हजारले रोजगारी गुमाएका छन् । यद्यपि, कृषि, निर्माण र यातायात क्षेत्रमा भने रोजगारी दर बढेको छ । पछिल्ला महीना श्रम बजार खस्किदै गइरहेको छ ।

यसले गर्दा राष्ट्रपति मुन जेई–इनको लोकप्रियता पनि घटिरहेको छ । यो वर्षको शुरुमा कोरियाले कामदारहरुको न्यूनतम तलब १६ प्रतिशतले बढाएको थियो । यो करीब २ दशककै उच्च वृद्धि हो । तर न्यूनतम तलबमा गरिएको अनिवार्य वृद्धिका कारण कम्पनीहरु कर्मचारी भर्ती गर्न हतोत्साहित भएका छन् । एजेन्सी