मस्को र पेचिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने

प्रकाशित मिति:

भ्लादिभोस्टोक (रूस) । मस्को र पेचिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । चीनका राष्ट्रपति सी चिनफिङ र रूसी समकक्षी पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलवार भएको भेटवार्तापछि उनले यस्तो बताएका हुन् । रूसको पश्चिमसँगको सम्बन्धमा समस्या आइरहेको समयमा रूसी राष्ट्रपतिको यो भनाइ आएको हो । रूसी तथा चिनियाँ दुवै पक्षले आपसी व्यापारमा राष्ट्रिय मुद्रालाई नै प्रयोग गर्न लागेको पुष्टि गरेका छन् । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने पुटिनले उल्लेख गरे ।

रूसविरुद्ध क्रिमियालाई गाभ्ने र यूक्रेन विद्रोहीलाई सघाउने काम गरेको भन्दै कडा प्रतिबन्ध लगाइएको छ । पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा कमी आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडि बढाएको बताइएको छ ।

भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुईपक्षीय सम्बन्ध विस्तार तथा विश्वमा शान्ति, सुरक्षा र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका विषयमा पनि कुराकानी भएको उल्लेख गरिएको छ । भ्लादिभोस्टोकमा हुने चौथो ‘इष्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनियाँ समकक्षी सी रूस आएका हुन् । रासस/एएफपी