छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

५ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं–अर्घाखाँची, कास्की, पर्सा, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । अर्घाखाँची, भुमिकास्थान नगरपालिका-५ स्थित सडकमा लु. १ ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया बिष्णु कुमारी श्रेष्ठलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, माछापुच्छ्रे गाउँपालिका-३ मर्दीखोलास्थित सडकबाट बुधबार दिउँसो ग.१ त ३४७३ नम्बरको ट्याक्टर करिब ५० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर ट्याक्टरका चालक पर्सा घर भई हाल माछापुच्छ्रे गाउँपालिका-३ घाचोक बस्ने ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

पर्सा, वीरगंज महानगरपालिका-३२ ज्योतीफर्मस्थित सडकमा ना.५ च ७१५ नम्बरको बलेरो पिकअपले ना.१ प ४६८९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सोही महानगरपालिका-३० बस्ने २९ वर्षीय अफ्ताब आलम अन्सारीको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । हाल फरार रहेका उक्त बलेरोका चालकलाई प्रहरीले खोजतलास गर्नुका साथै दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली, गोदाबरी नगरपालिका-२ स्थित पहाडरोडमा से.१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ । बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका टमाटाको पद्ममा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया