यस्ता मागहरु राख्नै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई बसे धर्नामा

प्रकाशित मिति:

काठमाडौं – पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई धर्नामा निस्कनु भएको छ । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका समाजवादी पार्टी नेपालका अध्यक्ष भट्टराई धर्नामा बस्नु भएको हो । बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए । गोरखा-२ बाट सांसद रहनु भएका भट्टराई धर्नामा हुनुहुन्छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यसबारे जानकारी गराउनु भएको छ । गोरखातर्फ साविक १४ र धादिङतर्फ १३ गाविसका जमिन डुवान पर्ने भए पनि मुआब्जा वितरण र तोक्ने काम पनि बाँकी नै छ ।

उहाँले लेख्नुभएको छ, ‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना ! यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् ’ धर्नामा राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी र धनमाया लामा पनि उपस्थित छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम छ । मंसिर १० गतेसम्म मुआब्जा निर्धारण नगरे बूढीगण्डकी प्रभावितले थप आन्दोलन घोषणा गर्ने बताएका छन् । १२ सय मेगावाट क्षमताको बनाइने बूढीगण्डकी आयोजना निर्माण कार्य अझै सुरू भएको छैन।