को हुन स्वास्थ्य राज्यमन्त्री नवराज रावत ? जान्नुहोस्

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा बुझाएका छन् । ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर नयाँ अनुहार ल्याएको अवस्थामा नवराज रावतले पनि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्वेवारी पाएका छन् । प्रतिनिधी सभा सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट नेकपाको तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत सदस्यमा निर्वाचित भएका रावतले सो जिम्वेवारी पाएका हुन् ।

को हुन् स्वास्थ्य राज्यमन्त्री रावत? राज्यमन्त्री नवराज रावतको जन्म २०२० पुस ३० गते अछाम जिल्लाको साविक मष्टबण्डाली गाविस हालको कमलबजार नगरपालीका वडा नं ९ मा पिता पहराम रावत र माता विष्ना रावतको कोखबाट भएको हो । २०३७ सालबाट राजनितिमा होमिएका रावत अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा संगठित भएका थिए ।

२०४२ सालमा पार्टीको सम्पर्क कमिटी सदस्यको भएका रावतले २०४४ सालमा तत्कालीन व्यवस्था विरोधीको आरोपमा दुई पटक हिरासतमा बसेका थिए । २०४३ सालमा स्थानीय निकाय निर्वाचनमा बावियाचौरको उपप्रधानको समेत उम्मेदवार बनेका थिए । तत्कालीन युवा संघ सुर्खेतको संस्थापक सदस्य भएका रावतले २०४७ सालमा माले र माक्सवादी एकीकरणपछि जिल्ला संगठन कमिटी सदस्यको भुमीका निर्वाह गरे । २०४८ सालमा नेकपा एमालेको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका रावत २०५१ सालमा मध्यावधी निर्वाचनको उम्मेदवार बनेका थिए ।

२०५५ सालको स्थानीय निर्वाचनबाट जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भए । २०६२/०६३ मा राजतन्त्र विरुद्धको आन्दोलनमा नेकपा एमालेको तर्फबाट आन्दोलनको नेतृत्व गरेका थिए । २०६३ मंसिर २६ मा सम्पन्न नेकपा एमाले सुर्खेतको पाँचौ जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भए । रावत २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । २०७० असार देखि तत्कालीन नेकपा एमालेको संगठन कमिटी अध्यक्ष जिम्बेवारी निर्वाह गरेका रावत २०७४ को प्रतिनिधी सभाको निर्वाचनबाट सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट नेकपाको तर्फबाट निर्वाचित भएका हुन् । रावतका एक श्रीमती २ छोरा र ४ छोरी छन् । उनी उद्योग समितिको सदस्यको भुमीका समेत निर्वाह गरिरहेका छन् ।