विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – श्री सत्य साई केन्द्र मणिग्रामले भगवान श्री सत्य साईबाबाको ९४ औं जन्मोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरिरहंदा शिक्षा दिवसको दिन तिलोत्तमा ६ मा अवस्थित श्री मेदिनी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तानतरण गरेको छ । विद्यालयमा अध्ययनरत ८५ विद्यार्थीलाई सामाग्री हस्तानतरण गरिएको श्री सत्य साई केन्द्र मणिग्रामका अध्यक्ष नारायण प्रसाद रेग्मीले बताए । विद्यार्थीलाई कापी, कलम र इरेजर प्रदान गरेको उनले बताए ।  उक्त सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिलोत्तमा नगरपालीका वडा न ६ का अध्यक्ष शुकदेव न्यौपानेले केन्द्रको कामको प्रशंसा गर्दै नगरपालीकाले प्राथमिकताका साथ सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि काम गरिरहेको बताए । उनले श्री मेदीनी आधारभुत विद्यालयमा विद्यार्थी संख्या वृद्धि र गुणस्तर वृद्धिका लागि व्यवस्थापन समितीसंग सल्लाह गरी अआफूले सक्दो सहयोग गर्ने जनाए ।

यस्तै उक्त विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगत पौडेलले धेरै प्रयास गर्दा पनि विद्यालयलाई सोंचेसरह अघि लान नसकिएको बताउंदै अब स्थानीय तहको सहयोग र सरोकारवालासंगको छलफलले विद्यालयमा अक्षयकोष स्थापनादेखि अंग्रेजी माध्यममा पढाउने वातावरण बनाइने बताए । उनले सत्य साई केन्द्रलाई धन्यवाद दिंदै सोही विद्यालयका पूर्व शिक्षक तथा प्रअ र पूर्व विद्यार्थी साई अनुयायी भएकाले विद्यालयका लागि गरेको सहयोग उदाहरणीय भएको बताए ।

कार्यक्रममा सत्य साई केन्द्र मणिग्रामका पुर्व अध्यक्ष छत्रराज गौतमले विद्यालयको स्तरवृदिमा स्थानीय तह र स्थानीय दुवै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले अक्षयकोषको स्थापनाले विद्यालयले फड्को मार्ने बताए । श्री सत्य साई केन्द्र मणिग्रामका अध्यक्ष नारायण प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका युवा संयोजक सुन्दर बस्ताकोटीले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य शान्ति धिताल, पूर्व प्रअ रामकुमारी गौतम लगायत सत्य साई केन्द्रका पदाधिकारी र युवाहरु समेतको उपस्थिती थियो । साथै केन्द्रले यही मंसिर ७ गतेसत्य साईबाबाको ९४ औं जन्मोत्सवको मुल समारोह मनाउन गइरहेको छ ।