हेलिकप्टरबाट गर्भवती महिलाको उद्दार

प्रकाशित मिति:

आशिस केसी/सल्यान- सल्यानमा बिहीबार सुत्केरी हुन नसकेर छटपटाइरहेकी एक महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।शारदानगरपालीका वडा नम्बर १३ स्यानीखालकी २८ वर्षीया सुगन्धा पुनलाई जिल्ला अस्पताल सल्यानमा उपचारको प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरी नेपालगञ्ज रिफर गरीएको हो ।गर्भवती महिलालाई अत्याधिक प्रेसर बढेपछि गएराति जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो । अस्पतालमा बेहोस भएकी पुन होसमा नआएपछि नेपाली सेनाको हलीकप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा अर्जुन बुढा मगरले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गर्भवती पुनको रक्तकोषीका फुटेको, कलेजो र मृगौलामा समेत समस्या देखिएका कारणले जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो । पेटमा रहेको शिशुको भने अवस्था सामान्य रहेको छ ।बिरामिको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरद्वारा उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार यो भन्दा पहिला पनि सल्यानमा उपचार हुन नसकेकी एक जना महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको थियो । महिना नपुगेको गर्भवतीका लागी यहाँ सल्लेक्रिया हुने भएपनि बच्चाको सुरक्षाको लागी एनआईसी नभएको कारण डाक्टरको सल्लाह अनुसार रिफर गरिएको अस्पतालले जनाएको छ।