ॐ आज उत्पत्तिकाएकादशीव्रत कथासहित हेर्नुहोस् आजको दिन २०७६ मंसिर ६ गते

प्रकाशित मिति:

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल मंसिर महिनाको ६ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, नेपाल संवत् ११४०, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष कृष्णपक्षको दशमी तिथि बिहान ७।२ बजेसम्म रहनेछ । सो पश्चात् उत्पत्तिका एकादशी तिथि रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य तुला राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र बेलुका ५।२२ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र बब करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।३१ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।

चन्द्रमा आज कन्या राशिमा छन् । आज स्मार्तको उत्पत्तिका एकादशीव्रत परेको छ । वैष्णवका निम्ति भने एकादशीव्रत भोलि रहनेछ । सत्य युगमा मुर नामक भयंकर दानवले देवराज इन्द्रलाई पराजित गरेर जब स्वर्गमथि आफ्नो आधिपत्य जमायो, तब सबै देवता महादेवको शरणमा पुगे । महादेव देवगणलाई साथमा लिई क्षीरसागर विष्णु भगवान्लाई भेट्न पुग्नुभयो । त्यहाँ शेषनागको शय्यामा योग(निद्रामा लीन हुनु भएका भगवान विष्णुलाई देखेर देवराज इन्द्रले भगवान्को स्तुति गरे । देवताहरूको अनुरोधमा भगवान्ले त्यस अत्याचारी दैत्यउपर आक्रमण गर्नुभयो । असंख्य असुरहरूको संहार गरेर नारायण बदरिकाश्रम जानुभयो । त्यहाँ गई भगवान बाह्र योजन लामो सिंहावती गुफामा निद्रालीन हुनुभयो ।

दानव मुरले भगवान विष्णुलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो । प्रवेश गर्नासाथ श्रीहरिका शरीरबाट दिव्य अस्त्र (शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भइन् । ती कन्याले आफ्नो केवल हुंकारले मात्र दानव मुरलाई भस्म बनाइन् । नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान दिनुभयो । यसैगरी मंसिर कृष्णपक्षको एकादशीमा उत्पत्तिका नामक एकादशीको उपासना गर्ने वर पनि प्रदान गर्नुृभयो । भन्ने कथा पद्मपुराणमा वर्णन पाइन्छ । संसारमा एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन । एकादशी(माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ । एकादशीमा उपवास गर्ने व्यक्तिलाई इह लोकको भुक्तिका साथै परलोकमा पनि मुक्तिप्राप्त हुने फल बताइएको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
                ज्योतिषाचार्य, वास्तुविद् /हरेकपलबाट