पोखरा पुगेर देउवाले सरकारप्रती पोखे यस्तो आरोप-‘आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढ्यो’

आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढ्यो

प्रकाशित मिति:

पोखरा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानविन गर्न भन्दै शाही आयोग गठन गरेका थिए । सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजेको देउवाको आरोप छ ।

शुक्रवार(आज) पोखरामा आयोजित कार्यक्रममा उनले सबै स्थानमा आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढेको आरोप लगाए । ‘संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ, सबै ठाउँमा आफ्ना मान्छेहरु नियुक्ति गरेको छ’ देउवाले भने,‘अख्तियारलाई पनि शाही आयोग बनाउँदैछ ।’ उनले न्यायालयमा समेत सरकारले हस्तक्षेप गरेको आरोप लगाए । सरकारका गलत कामलाई ठिक गर्ने स्थान न्यायालय भएपनि त्यहाँ पनि हस्तक्षेप भएको उनको भनाइ थियो । सरकारका गलत काम र क्रियाकलापलाई आफूहरुले हेरिरहेको भन्दै देउवाले त्यसका विरुद्ध सडक र संसदमा लड्ने बताए ।