नेपालका तर्फबाट सीमाबारे कुनै पनि औपचारिक पत्र पठाएको छैन : भारत

७ मंसिर २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
51 Shares


एजेन्सी -भारतले दुई साताअघि सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको सीमा नमिचिएको दाबी दोहोर्‍याएको छ  । विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले नयाँ नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सम्बन्धमा भारतको भनाइ यथावत रहेको बताएका हुन् ।सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको पनि उनले उल्लेख गरेका छन् । प्रवक्ता रविशकुमारले पत्राचारपछि औपचारिक प्रक्रिया सुरु हुने र दुवै पक्षको अनुकूलता हेरेर बैठकको मिति तय हुने जानकारी पनि दिए ।

उनले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह ‘ईपीजीको प्रतिवेदन बुझाउनै बाँकी रहेको पनि दोहोर्‍याए । भारतका कारण प्रतिवेदन सार्वजनिक भएन भन्नु तथ्यगत रूपमा गलत रहेको विदेश मन्त्रालयको दावी छ ।दुवै पक्षले आआफ्ना सरकारलाई बुझाएपछि मात्रै प्रतिवेदन सार्वजनिक हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री केपी ओलीले कालापानी क्षेत्र नेपालको भएको अभिव्यक्ति दिएको एक साता नबित्दै भारतको पुरानै अडान सार्वजनिक भएको हो ।भारतले नोभेम्बर दुईमा सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गरेको विषयलाई लिएर नेपालमा विरोध भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया