सरकारले जनतालाई झुक्याइरहेको छ- नेता पौडेल

प्रकाशित मिति:

पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् ।कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३ ठूलढुङ्गामा शनिवार आयोजित चुनावी सभामा उनले जनतालाई ठूलठूला सपना बाँढेर बनेको सरकार अहिले भने प्रतिबद्धताबाट विमुख बनेको बताए ।उनले सरकार जनतालाई जथाभावी कर थोपरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए ।

सरकारका अलोकतान्त्रिक गतिविधिका साथै संविधान विरोधी कदमलाई सच्याउनका लागि यस उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताउँदै उनले कांग्रेसले त्यागी, निष्ठावान नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको बताए ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सरकारको गति र मतिलाई सच्याउँदै सही बाटोमा हिँडाउनका लागि कांग्रेसमा मत दिन आग्रह गरे ।