बाहिरिएका र नयाँ मन्त्रीका पत्नीसहितलाई प्रधानमन्त्रीले दिए डिनर पार्टी

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत सेयर गरेका छन् । प्रधानमन्त्रीले आह्वान गरेको डिनर पार्टीमा काठमाडौंमा उपलव्ध भएका अधिकांश मन्त्रीहरु उपस्थित भएपनि मन्त्रिमण्डल पुनर्गठनका क्रममा बहिर्गमनमा परेकाको भने खासै उपस्थिती थिएन ।

पूर्व भौतिक योजना मन्त्री रघुवीर महासेठ पत्नीसहित बालुवाटार पुगेपनि अन्य पूर्व मन्त्रीहरु भने बालुवाटार गएनन् । ‘बाहिरिनु भएका र नयाँ आउनु भएका सबैलाई डिनरका लागि प्रधानमन्त्री ज्यूले बोलाउनु भएको थियो’ बालुवाटार निकट श्रोतले खबरहबसँग भन्यो,‘तर बाहिरिनु भएका पूर्व मन्त्रीहरु खासै आउनु भएन । नयाँ मन्त्रीहरु मन्त्राणीसहित उपस्थित हुनुभएको थियो ।’

राजधानीमा रहेका मन्त्रीहरु उपस्थित भए भनिएपनि सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव र उनको दल समाजवादी नेपालका तर्फबाट मन्त्रीरहेकाहरुको भोजमा उपस्थिति थिएन । ‘यो पारिवारिक भेटघाट र चिनजान जस्तै कार्यक्रम हो,’ बालुवाटार स्रोतले भन्यो,‘यो पुरानै प्रचलन पनि हो ।’ खानपान र गफगाफका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरु र पुनर्गठनपछि मन्त्री बनेकाहरुलाई प्राथमिकता तय गरेर अघि बढ्न सुझाव दिएका थिए । ‘औपचारिक कुनै कार्यक्रम भएको होइन’ स्रोतले भन्यो,‘प्रधानमन्त्री ज्यूले विकास निर्माण, जनचासोलाई ख्याल गरेर अघि बढ्न र सरकारमाथि भइरहेको आक्रमणको डटेर सामाना गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’ केही मन्त्रीहरु पत्नीसहित साँझ साढे ६ बजे बालुवाटार पुगेका थिए भने केही ढिला पुगेका थिए । केही मन्त्रीहरु राति १० बजेसम्म बालुवाटारमा खानपान गरेर फर्किएका थिए ।