के प्रधानमन्त्री ओलीले भारतीय नागरिकलाई राज्यमन्त्री बनाएकै हुन त ?

प्रकाशित मिति:

काठमाडौं- सरकारको काम गर्ने गति परिवर्तन गर्न मन्त्रिमण्डल परिवर्तन गरेका प्रधानमन्त्री केपी शर्मा ओली विवादित बन्नु भएको छ । उहाँले अहिले आफ्नो नयाँ मन्त्रिपरिषद्मा भारतीय नागरिकलाई राज्यमन्त्री बनाएको खुल्न आएको छ । गत हप्ता प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनका बेला भारतीय नागरिकलाई राज्यमन्त्री बनाएको भारतीय संचार माध्यमले दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री बनाउनु भएको छ । तर, उनै दुगड भारतीय नागरिक रहेको भारतको एक थार एक्सप्रेस नामको अनलाइन पत्रिकाले दाबी गरेको हो । थार एक्सप्रेसकाअनुसार दुगड फतेहपुर राजस्थान निवासी हुन् । उनी व्यापारी रहेको उल्लेख गर्दै दुगडलाई विराटनगर प्रवासी भनेर समाचार प्रकाशित गरिएको छ ।

थार एक्सप्रेसले ‘कुनै पनि देशको मन्त्रीमण्डलमा आफ्नो समुदायको प्रतिनिधित्व हुनु राज्य (राजस्थान) का लागि गौरवको कुरा भएको बताएको छ । उद्योगी मोतीलाल दुगड तत्कालीन नेकपाको सिफारिसमा समानुपातिकतर्फबाट सांसद बनेका हुन् । यसअघि दुगड २०६४ मा भएको संविधान सभाको निर्वाचनमा नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद भएका थिए । दुगडको सेञ्चुरी मसला लगायतका मसला उद्योग, पोलिमर उद्योग, होटल क्षेत्रमा पनि लगानी छ ।