ठूला विद्यार्थी बेन्चमा साना चिसो भुइँमा

प्रकाशित मिति:

जनार्जन खत्री/सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालय बसबरिया गाउँपालिकाको अगाडिपट्टी छ । डेस्क बेन्चको अभावमा कलिला बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य भएका हुन् । विद्यालयमा उपलब्ध डेस्क बेन्च माथिल्लो कक्षाका विद्यार्थीले प्रयोग गर्दा साना बालबालिका चिसो भुँइमा बसेर पढ्नु परेको हो । गाउँपालिका कार्यालयकै अगाडि रहेको सो विद्यालय निकै दयनीय अवस्थामा सञ्चालन भइरहेको छ ।

विद्यालयमा शिक्षकको समस्या पनि छ । कार्यालय सहयोगीसहित नौ जना शिक्षक कार्यरत छन् । विद्यालयमा बाल विकासदेखि कक्षा १० सम्म झण्डै साँढे पाँच सय विद्यार्थी अध्ययरत छन् । विद्यालयका प्रधानाध्यापक रामबाबु यादवले डेस्क बेन्च र शिक्षकको समस्याबारे गाउँपालिकामा पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । आँखाकै सामुन्नेमा रहेको विद्यालयलाई जनप्रतिनिधिले पाँच पैसा पनि सहयोग नगरेका प्रधानाध्यापक यादवको भनाई छ ।

गाउँपालिका भरीका प्रअहरुको बैठकमा गाउँपालिका प्रमुख समक्ष विद्यालयको समस्या राखे पनि बेवास्ता गरिएको प्रअ यादवले दुःखेसो गर्नुभयो । बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या राय यादवले भने सबै विद्यालयलाई समान व्यवहार गरिएको बताउनु भएको छ । उहाँले भवानीपुर विद्यालयको समस्याबारे आफू जानकार रहेकाले चाँडै नै शिक्षक र डेस्क बेन्चको व्यवस्था गर्ने बताउनुभयो । २०२१ सालमा स्थापना भएको सो विद्यालयले आफ्नो नाममा रहेको छ विगाह जग्गा भाडामा लगाएर बर्सेनी दुई लाख रुपियाँ आम्दानी गर्दै आएको छ । भवानीपुरका नागरिक अगुवा गजेन्द्र साहले जनप्रतिनिधिको बेवास्ताले गाउँको सरकारी विद्यालय दयनीय अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । – गोरखापत्र